२०८२ मंसिर ४ गते बिहिवार
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। रास्वपाले यसअघि पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। माघ २२ गते प्रचण्ड सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत भने कायम राखेको थियो।
पुस १० गते बनेको तत्कालीन ७ दलीय गठबन्धन फागुन १२ गते भत्किएर नयाँ गठबन्धन बनेको थियो। औपचारिक रूपमा रास्वपा नयाँ गठबन्धनमा सहभागी छैन।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै रास्वपा फेरि सरकारमा सहभागी हुने सम्भावना छ। प्रतिनिधि सभामा अहिले रास्वपाका १९ सांसद छन्।
यसअघि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आजै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij