२०८२ भाद्र २ गते सोमवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मन्त्री नबन्ने संकेत गरेका छन्।
‘वर्तमान सरकारका आर्थिक प्राथमिकता र समसामयिक राजनीति’ विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अन्तक्रियामा उनले मन्त्री नबन्ने संकेत गरेका हुन्। ‘मैले ५ वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो। मैले सबै कामहरु नेपाली कांग्रेसको महामन्त्री भएर काम गर्ने हो। सांसद भएर काम गर्ने हो,’ थापाले भने, ‘न म अहिले मन्त्री बन्ने हो, न बन्न मिल्छ, न म बन्दै छु पनि।’
कांग्रेस सरकारमा रहिरहेको समयमा सरकारलाई आफूले सफल बनाउन प्रयास गर्ने उनको भनाइ थियो। ‘मैले नेपाली कांग्रेस सरकारमा रहिरहेको बेलामा सफल बनाउने हो,’ थापाले भने, ‘तर, सरकार कति दिन टिक्यो भन्ने आधारमा सफलता नाप्दिनँ। नाप्नु हुँदैन भन्ने ठान्छु। परिणाम के दियो भन्ने आधारमा हेर्ने हो।’ महामन्त्री थापाले सरकारले परिणाममुखी काम गर्न नसके ५ वर्ष खेर जाने पनि जिरिक गरे।
‘यो गभर्मेन्टले परिणाम दिन सकेन भने ५ वर्ष खेर जान्छ,’ उनले भने, ‘५ वर्षमा के परिणाम दियौँ र के दिएनौँ भन्ने कुरा महत्वपूर्ण कुरा हो। त्यो परिणाम दिने बाटोमा यो गठबन्धन सरकार लाग्नुपर्छ। नभए अर्को ५ वर्ष देशको खेर जान्छ। त्यो देशको खेर जानु भनेको तपाईंको, मेरो खेर जानु हो।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij