२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । शिक्षक सेवा आयोगबाट लिइएको लिखित परीक्षामा उत्तीर्ण भएकी कुमारी पुष्पा चन्दलाई आयोगले पिछडिएको जिल्लाबाट नागरिकता लिएको नभएको भन्दै त्यस क्लस्टरबाट परीक्षा दिन अयोग्य रहेको निर्णय कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
बैतडीबाट विवाह गरी बझाङ पुगेकी चन्दलाई बझाङमै स्थायी बसोबास र विवाह दर्ता पनि सिफारिस भएको र उनले नुवाकोटबाट शिक्षक सेवामा नाम निकाल्दा बझाङबाट नागरिकता जारी नभएको भन्दै पिछडिएको क्षेत्रबाट भिड्न नपाउने आयोगको निर्णय गरेको थियो ।
सर्वोच्च आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले जारी गरेको उत्प्रेष्णमा भनिएको छ, ‘शिक्षक सेवा आयोगको विज्ञापन नं. १०९/७८-७९ को प्राथमिक शिक्षक तृतीय तहको समावेशी पिछडिएको क्षेत्रतर्फ लिखित परीक्षाहरुमा उत्तीण भईसकेपछि आयोगबाट प्रकाशित फागुन १० गतेको सूचनामा कुमारी पुष्पा चन्दको विवरण शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम १३ क. को खण्ड (ङ) मा उल्लेख भएअनुसारको आधार नपाइएकोले नियमावलीको नियम २६ (१) बमोजिम दरखास्त रद्द गरिएको भन्ने उल्लेख भएको हुँदा प्रस्तुत निवेदनको अन्तिम टुंगो नलागेसम्म आयोगको उक्त निर्णय कार्यान्वयन नगर्न नराउन अन्तरिम आदेश जारी गरिएको छ ।’
आयोगले कुमारीलाई पिछडिएको क्षेत्रबाट परीक्षामा समावेश हुन योग्यता नपुगेको भन्दै अन्तर्वार्तामा सहभागी हुन नपाउने भनेर सूचना जारी गरेको थियो । त्यसविरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij