२०८२ फाल्गुण २५ गते सोमवार
काठमाडौं । धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा आफ्ना उम्मेदवार मातृका यादव प्रतिनिधि सभा सदस्यमा विजयी भइसक्दा पनि निर्वाचन आयोगले यादवलाई प्रमाणपत्र नदिएको भन्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आपत्ति प्रकट गरेको छ।
नेकपा केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले सोमबार बिहान वक्तव्य जारी गर्दै यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उनलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन्।
‘निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार किशोरी साह (कमल)को उम्मेदवारी खारेज गरिसकेको अवस्थामा मत गणनामा विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो,’ आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय हो।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij