Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पेस गर्ने सरकारको तयारी

हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पेस गर्ने सरकारको तयारी


  • 2.0K
    Shares

    हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पेस गर्ने सरकारको तयारी

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरुसँग संसद्का गतिविधिहरुलाई चलयामान बनाउने कुरामा छलफल गरेका हुन्। 

    उनले छलफलका क्रममा संसद्‌मा कस्तो बिजनेश लैजाने र यो अधिवेशनमा कतिवटा विधेयकहरु संसद्‌बाट पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरुबाट सुझाव लिएका छन्। छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले छलफलमा प्रधानमन्त्री दाहालले संसद्को बिजनेश कसरी अघि बढाउने र यो सत्रमा कस्ता विधेयकहरु लैजाने भन्नेबारेमा छलफल भएको बताए। 

    उनले संसद् अहिले प्रभावकारी नबनेको भन्दै संसद् भाषणको रमिता देखाउने कुरामै सिमित रहेको बताए। आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेश बनाइनुपर्ने कुरा अघि सारेको यादवले बताए। 

    हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिब २० वटा विधेयक संसद्‌बाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले गरेको उनले जानकारी दिए। 

    त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले आजको प्रमुख सचेतकहरुसँगको बैठकमा प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरुलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यकतासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको बताए। 

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद् सुरु भए पनि संसद्ले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाएको बताए। 

    उनले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरुले संसद्लाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा छलफल गरेको बताए। संसद् चले पनि संसद्का प्राविधिक कुराहरुमा नै अहिलेसम्म अड्किएकाले अबका दिनमा संसद्लाई कस्तो बिजनेश दिने भन्नेबारेमा छलफल भएको परियारले बताए। 

    त्यस्तै नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसद्ले बिजनेश नपाएको र संसद्‌मा विधेयकहरु अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरुसँग सुझाव लिएको बताए। 

    सहज रुपमा सरकारले संसद्‌मा विधेयकहरु पेस गर्नका लागि के कस्ता अफ्ठ्याराहरु छन् र कसरी बाधा फुकाउने भन्ने कुरामा छलफल भएको ज्वालाको भनाइ छ। 

    प्रमुख सचेतक ज्वालाले अहिले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले काम गरिरहेको र संसदीय समितिहरु नबन्दा सरकारले संसद्‌मा विधेयकहरु पेस गर्दा अफ्ठ्यारो हुने कुराको बारेमा पनि छलफल भएको जानकारी दिए।

    प्रकाशित मिति :माघ २३ २०७९ सोमवार - १४:१७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij