२०८२ भाद्र १ गते आइतवार
शिक्षक र विद्यार्थीमा कोरोना भाइरस देखिएपछि बनगाड कुपिन्डे नगरपालिकाका दुई विद्यालय एक साताका लागि बन्द गरिएको छ ।
नगरपालिकाको प्रभाकर माध्यमिक विद्यालय देवस्थल र गंगा प्राथमिक विद्यालय बन्द गरिएको हो । ४६ जनाको स्वाब संकलन गरिएकोमा देवस्थलको प्रभाकर माविका शिक्षक र विद्यार्थी गरी १० जना र गंगा प्राविका तीन शिक्षकमा कोरोना पोजेटिभ देखिएको छ ।
विद्यालयका सबै शिक्षक र विद्यार्थी कोरोनाको उच्च जोखिममा पर्ने देखिएपछि विद्यालय बन्द गरिएको प्रभाकर माविका प्रधानाध्यापक शिखर ऐरीले बताए । विद्यालयका अधिकांश विद्यार्थीलाई कोरोना हुनसक्ने सम्भावना देखिएपछि थप विद्यार्थीहरूको पीसीआर परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी गराए ।
कक्षा १ देखि १२ सम्म सञ्चालित विद्यालयमा झन्डै ६ सय विद्यार्थी रहेकाले कसैलाई लक्षण देखिएमा तत्काल सम्पर्क राख्न उनले अभिभावकलाई आग्रह गरेका छन् । शिक्षक र विद्यार्थीमा कोरोना भाइरस देखिएपछि बालबालिकाको पठनपाठन पूर्ण रुपमा प्रभावित भएको र सबैको रिपोर्ट नेगेटिभ नआउँदासम्म विद्यालय सञ्चालन गर्न नसकिने उनको भनाइ छ ।
नगरपालिकाले प्रभाकर माध्यमिक विद्यालयमा आइसोलेसन बनाएको र निर्मलीकरणको काममा लापरबाही गरेकाले पनि विद्यार्थी र शिक्षकमा कोरोना देखिएको हुनसक्ने ऐरीको भनाई छ । वनगाड कुपिन्डे नगरपालिकाका स्वास्थ्य संयोजक बासुदेव पोखरेलले कोरोना देखिएकालाई होम आइसोलेसनमा बस्न र संक्रमित परिवारका अभिभावकले मास्क प्रयोग आग्रह गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij