२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको सेवासुविधा बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
आइतबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सेवासुविधाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
‘विशेषगरी तल्ला तहका शिक्षक तथा कर्मचारी साथीहरूको तलब, सेवासुविधालगायतका समस्या मैले सुनेको छु । शिक्षाको जगको आधार नै धरमरायो भने शिक्षामा विकासको अपेक्षा गर्न सकिँदैन । सम्पूर्ण शिक्षक तथा कर्मचारीको समस्याप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तपाईंहरूको जायज मागका लागि म सरकारसमक्ष पहल गर्ने वचनबद्धता व्यक्त गर्न चाहन्छु,’ कार्यक्रममा अध्यक्ष प्रचण्डले भने ।
उनले संघीय शिक्षा ऐन ल्याउन र उच्चस्तरिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि पहल गर्ने बताए । संघीय शिक्षा ऐन, उच्चस्तरिय शिक्षा आयोगको प्रतिवेदन, शिक्षा बजेट, शिक्षकको राजनीतिक अधिकारलगायतका विषय राज्यकै समस्या रहेको भन्दै प्रचण्डले ती त्रुटिहरू सच्याउन शिक्षकहरूले शान्तिपूर्ण संघर्ष गर्नुपर्ने बताए ।
शिक्षकका समस्या बाँकी रहँदासम्म शिक्षामा सुधार गर्न नसकिने दाबी गर्दै प्रचण्डले शिक्षकहरू शिक्षा विकासका मेरुदण्ड भएको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij