२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीहरूले विद्यालयमा अपमानको सामना गर्नु परेको बताएका छन् । माथिल्लो कक्षामा अध्यापन गराउने शिक्षकहरूले कार्यक्षमतामाथि प्रश्न उठाउँदै अपमान गर्ने गरेको बताएका हुन् ।
उनीहरूले तलब, सेवासुविधामा पनि सरकारले सौतने व्यवहार गरेको र विद्यालयमा पनि अपमान सहनु परेको बताए । नाम उल्लेख नगर्ने सर्तमा एक जना इसीडी शिक्षकले भनिन्, ‘हामी तल्लो तहमा काम गर्नेहरूलाई माथिल्लो तहका शिक्षक तथा कर्मचारीहरूले हेप्नुहुन्छ । आखिर सबैले पढाउने हो ।’
विद्यालय कर्मचारीले पनि विद्यालयमा हेपिएर काम गर्नु परेको बताए । उनले भने,‘सबै माथिल्लो तहका शिक्षक र कर्मचारी नहोलान तर हेपाहा प्रवृत्तिका जल्दाबल्दा उदारहण अझैसम्म पनि छन् । जुन प्रवृत्तिले कसैलाई फाइदा गर्दैन ।
त्यसैगरी अर्की इसीडी शिक्षकले हेप्ने मात्र नभइ खाइपाई आएको तलबभत्ताबाट समेत बन्चित गर्ने गरेकाे बताइन् । माथिल्लो तहका शिक्षकहरूले विद्यालय कर्मचारीहरूलाई दास सरह काममा कजाउने, हेप्ने र दुःख दिने गरिरहेको अर्का विद्यालय कर्मचारीको भनाइ छ ।
जो शिक्षक एक शिक्षित व्यक्ति भएर पनि अमानवीय व्यवाहार गर्छ, त्यस्तो व्यक्ति नामको मात्र शिक्षक भएको इसीडी शिक्षक र विद्यालय कर्मचारीकाे भनाइ छ ।
एक इसीडी शिक्षकले राज्यले सम्मान नगरी हेलाँ र हेपेको हुनाले सँगै काम गर्ने शिक्षकहरूले पनि आफूहरूलाई हेपेको बताइन् । उनले प्राथमिक तह सरह सेवासुविधा दिन आग्रह गरिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij