Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

विद्यार्थीहरू यार्सा पाटनतिर लागेपछि विद्यालय रित्तै

विद्यार्थीहरू यार्सा पाटनतिर लागेपछि विद्यालय रित्तै


  • 2.8K
    Shares

    विद्यार्थीहरू यार्सा पाटनतिर लागेपछि विद्यालय रित्तै

    मुगुको मुगुम कार्मारोङ गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि यस क्षेत्रका डेढ दर्जन विद्यालय बन्द भएका छन्।

    उक्त गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्री र छायाँनाथ रारा नगरपालिकाको रोवा, रुगा, लगायत विद्यालयमा अध्यायरत कक्षा ५ देखि १० सम्म छात्रछात्रा सातु-सामल खाजा बोकेर यार्सा संकलन गर्न पाटनतिर उक्लिएपछि पठनपाठन प्रभावित बनेको छ।

    विद्यार्थीहरु यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध माध्यमिक विद्यालय, प्रभात माध्यमिक रोवासहित अन्य २६ वटा सामुदायिक विद्यालयहरुको पढाइ प्रभावित बनेको हो।

    केही स्कुलमा भने केही दिनयता कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू मात्र आउने गरेका छन्। कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी यार्सा टिप्न पाटन गएपछि पठनपाठन प्रभावित भएको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीका प्रसाद उपाध्यायले बताए।

    भर्ना अभियान सकेर पढाइ सुरु हुनासाथ विद्यार्थी स्कुल छोडेर यार्सा संकलन गर्न पाटन हिँडेको प्रधानाध्यापक उपाध्यायले बताए। जेठ १५ देखि पाटन उक्लिएका विद्यार्थीहरू असार अन्त्यपछि मात्रै घर फर्किने र त्यसपछि मात्र पढाइ पुन: सुरु हुने अपेक्षा गरिएको छ। शिक्षकहरूका अनुसार हरेक वर्ष यार्सा टिप्ने मौसममा अधिकांश विद्यार्थीहरू पढाइ छोडेरै यार्सा टिप्न पाटन जाने गर्छन्।

    यससँगै उनीहरूले पढाइ खर्च पनि आफैं जुटाउने गरेको शिक्षकहरू बताउँछन्। यसरी यार्सा टिप्न जाने विद्यार्थीहरूले यार्सा बेचेर एक सिजनमा न्यूनतम ३० देखि ४५ हजार रुपैयाँसम्म कमाउने गरेको बताइन्छ।

    यार्सा बेचेर कमाएको पैसाले उनीहरू कापी, कलम, जुत्ता, मोबाइल लगायत सामग्री पनि किन्ने गरेका छन्। पछिल्लो एक दशकयता नै यस क्षेत्रका विद्यार्थीहरू यार्सा टिप्न पाटन जाने गरेको मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । जसकारण यस क्षेत्रका स्कुल पनि यो सिजनमा एक महिनासम्म सुनसान हुने गरेको अध्यक्ष लामाको भनाइ छ ।

    मुगुम कार्मारोङ गाउँपालिकाको रिमार, टाँके, कोइकी, ह्यामार लगायत स्थानमा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा यहाँका विद्यार्थीको मात्रै नभएर उनीहरूका अभिभावकको पनि प्रमुख आयस्रोत बनेको छ ।

    प्रकाशित मिति :जेठ १८ २०७९ बुधवार - १६:००:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij