२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले सार्वजनिक विद्यालयलाई सुधार गर्न जोड दिएका छन्।
बुधबार काठमाडौं महानगरपालिकाभित्रका विभिन्न सार्वजनिक विद्यालयको अनुगमन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेको औंल्याए। त्यसका लागि सरकारले काम गरिरहेको उनले बताए।
मन्त्री पौडेलले निजी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोको रुपमा नलिइ न्यूनतम शुल्कमा पढाउनुपर्नेमा जोड दिए।
सरकारले निजी क्षेत्रलाई पनि ध्यान दिइरहेको उनको भनाइ छ। उनले भने, ‘नेपालमा सार्वजनिक विद्यालयहरूको स्थिति खस्केको छ, गुणस्तर छैन भन्ने जुन प्रकारको चर्चा, परिचर्चा चल्ने गरेको छ। त्यसको सुधार गरेर हामीले त्यो चर्चालाई प्रत्युत्तर दिनु छ। त्यसको निम्ति हामीले भौतिक पूर्वाधारमा सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार। यी तिन प्रकारका सुधार गरेर सार्वजनिक विद्यालयहरुलाई सुदृढ, व्यवस्थित गर्ने अभियानमा मन्त्रालय लागेको छ।’
उनले सार्वजनिक सुधारको अभियान काठमाडौं महानगरपालिकाबाट शुरु भएको समेत उल्लेख गरे। उनले कम्तीमा ३ वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिनेगरी सरकारले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे। मन्त्री पौडेलले सार्वजनिक सुधार मन्त्रालयको प्राथमिकतामा रहेको बताउँदै आगामी आर्थिक वर्षमा शिक्षामा बजेट वृद्धि हुने मा विश्वास व्यक्त गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij