Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गण्डकी प्रदेशमा बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप

गण्डकी प्रदेशमा बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप


  • 3.1K
    Shares

    • images
    गण्डकी प्रदेशमा बालबालिकालाई विद्यालयमै टाइफाइडविरुद्धको खोप
    images

    कोभिड महामारीविरुद्धको खोप कार्यक्रम जारी रहेकै अवस्थामा गण्डकी प्रदेशमा जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतनै प्रदेशका ११ जिल्लाका पाँच लाख ६० हजार २२७ बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिन लागिएको छ । बहुवर्षीय खोप कार्ययोजना सन् २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म खोप कार्यक्रम सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई लगाउन लागिएको हो ।

    एक भायलमा पाँच मात्रा रहेको रङविहीन तयारी झोलका रुपमा रहेको खोप एक जनालाई शून्य दशमलव पाँच एमएल दिइने निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खोप योजनाका लागि प्रदेशस्तरीय योजना तथा प्रशिक्षण सम्पन्न भएर ११ जिल्लामै खोप लगाउने स्वास्थ्यकर्मीको तालिम चैत १४ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको छ ।

    चैत २० गतेभित्र प्रदेशमा खोप आइपुग्ने भएकाले २१ देखि २३ गतेसम्म खोप सबै जिल्लामा पुगिसक्ने बताइन्छ । खोप प्रत्येक विद्यालयमा लगाउने व्यवस्था गरिने निर्देशक डा खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यस खोप अभियानमा खोप लगाउनेपर्ने उमेर समूहको ठूलो हिस्सा विद्यालयमा रहने हुँदा बालबालिकाको सहजताका लागि सबै वडाका विद्यालयमा नै खोप कार्यक्रम सञ्चालन हुनेछ । यससँगै वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गछौँ ।”

    टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको बताइन्छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा रोशन न्यौपानेले जानकारी दिनुभयो । प्रतिलाखमा एक जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधिको समेत व्यवस्था गरिएको बताइन्छ ।

    टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास गरिएको छ । विश्व स्वास्थ्य सङगठनका अनुसार टाइफाइडबाट विश्वमा हरेक वर्ष दुई करोड मानिस बिरामी हुने गरेका छन् । त्यसमध्ये करिब एक लाख ६१ हजारले ज्यान गुमाउने गरेको तथ्याङ्क छ । नेपालमा भने प्रतिएक लाखमा एक हजार ६२ मा टाइफाइडको सङ्क्रमण दर रहेको छ भने १५ वर्षमुनिका बालबालिकामा प्रतिएक लाखमा १० हजार ९६० सङ्क्रमण दर रहेको बताइन्छ । 

    प्रकाशित मिति :चैत्र १४ २०७८ सोमवार - १०:०६:३५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij