२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । सरकारले कोभिड–१९ को संक्रमणदर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।
स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर अधिकारीले पछिल्लो हप्ता कोभिड १९ को संक्रमणदर, अस्पताल भर्नाको दर र संक्रमित भई मृत्यु हुनेको दरमा कमी आएको बताए।
उनले तीव्र रुपमा कोभिड १९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमणदरमा कमी आएको उल्लेख गरे।
अफ्रिकी देशमा खोप अभियान कम सञ्चालन भएका कारण ती देशहरुबाट कोभिड १९ को नयाँ–नयाँ भेरियन्ट जन्मिन सक्ने भएकाले अझै पनि संक्रमणको जोखिम नटरेको उनको भनाइ छ।
‘संक्रमण कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको छ’, न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सहायक प्रवक्ता डा अधिकारीले भने, ‘विश्वभरको अवस्था र विगतको दृष्टान्त हेर्दा संक्रमण कम भए पनि अझै संक्रमणको जोखिम धेरै रहेको छ।’
अहिले पनि केही देशमा संक्रमण उकालो लागेको देखिएकाले निगरानी एकदमै बढाउनुपर्ने उनको भनाइ छ।
‘हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी पनि कम हुँदै जाने, मानिस–मानिसको भेटघाट बढ्दै जाने, जनस्वास्थ्यको मापदण्डको पालना कम हुँदै जाने भएपछि नयाँ किसिमको भेरियन्ट आउनेबित्तिकै तीव्र गतिमा फैलिने जोखिम एकदमै रहन्छ’, डा अधिकारीले थपे, ‘त्यसले पार्ने जनस्वास्थ्यको प्रभाव ठूलो हुनसक्छ। त्यसैले अझ केही समय निगरानी बढाउनुपर्ने, सावधानी लिनुपर्नेछ। समग्रमा भन्दा संक्रमणको दर कम हुँदै गए पनि जोखिम कम भइसकेको छैन।’
आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्न विगतमा जस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्नेमा उनले जोड दिए।
जनस्वास्थ्यको मापदण्डको पालना गर्दा कोभिड १९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्ने भएकाले मापदण्ड पालनामा निरन्तरता दिनुपर्ने उको भनाइ छ।
सहायक प्रवक्ता डा अधिकारीले संक्रमणदर घटेसँगै मन्त्रालयले गर्ने सबै प्रकारका स्वास्थ्यसँग सम्बन्धित काम पूर्ण रुपमा सुचारु भएको पनि बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij