Logo

२०८२ भाद्र ६ गते शुक्रवार

२०८२ भाद्र ६ गते शुक्रवार

देशभरका विद्यालय बन्द: वैकल्पिक कक्षा नहुँदा अभिभावक चिन्तित

देशभरका विद्यालय बन्द: वैकल्पिक कक्षा नहुँदा अभिभावक चिन्तित


  • 4.4K
    Shares

    देशभरका विद्यालय बन्द: वैकल्पिक कक्षा नहुँदा अभिभावक चिन्तित
    images

    बैतडी । कोरोना संक्रमण फैलिएपछि देशभरका विद्यालय बन्द भएका छन्। सहर र सुगमका विद्यार्थी वैकल्पिक माध्यमबाट पढ्न थाले पनि बैतडीमा भने वैकल्पिक माध्यमबाट पनि पठनपाठन हुन सकेको छैन । यसले बालबालिकाको पढाइप्रति अभिभावकहरू चिन्तित बनेका छन् ।

    विद्यालय बन्द हुँदा भाइको पढाइ नराम्रोसंँग बिग्रिएको दशरथचन्द नगरपालिका—४ की साधना रानाले बताइन् । उनले भनिन्, ‘केही दिन चलेको अनलाइन कक्षा पनि सबै विद्यार्थीको पहुँच नभएकाले बन्द भयो । विद्यालय बन्द हुँदा बालबालिकाहरूको पढाइ अवरुद्ध भयो । यही अवस्था रहने हो भने पहाडी भेगका विद्यार्थीहरू पढाइमा धेरै पछि पर्छन् ।’

    जिल्लामा यसअघि विद्यालय बन्द हुँदा पनि वैकल्पिक माध्यमबाट पढाइ हुन सकेको थिएन । रेडियो, टीभी कार्यक्रमबाट सदरमुकाम आसपासका विद्यार्थीहरूले पढ्न पाए पनि अन्यले पाएका थिएनन् । लगातार २ वर्ष विद्यार्थीहरूले पढ्न नपाएकाले कक्षा दोहोर्‍याउनुपर्ने अवस्था हुन लागेको दशरथचन्द नगरपालिकाकी बिना बुडाल बताउँछिन् ।

    ‘घरमा बालबालिका पढ्नै मान्दैनन् । विद्यालय फेरि बन्द हुँदा नराम्रोसँग पढाइ बिग्रियो,’ बुडालले भनिन्, ‘स्कुल जानुबाहेक अरू माध्यमबाट पढाइ पनि भएको छैन ।’ धेरै समयपछि खुलेका विद्यालय गएर पढ्न सुरु गरेका विद्यार्थीहरूले फेरि पढाइ भुल्न थालेको उनको भनाइ थियो ।

    स्थानीय तहहरूले पनि टोल शिक्षणको अवधारणा अगाडि बढाउन सकेका छैनन् । यसले गर्दा विद्यार्थीहरू पढाइमा कमजोर हुँदै गएका छन् । कोरानाका बेला विद्यालय बन्द हुँदा बालबालिकाहरूको पढाइमा परेको असर भविष्यमा समेत देखिने शिक्षकहरू बताउँछन् । लामो समयदेखि विद्यालयहरू बन्द हुँदा बालबालिकाहरूको पठनपाठनमा नकारात्मक असर परेको ज्ञानेश्वर नमुना मावि पाटनका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए । ‘हाम्रो जस्तो क्षेत्रमा भौतिक उपस्थितिमा पढाइ नहुँदासम्म अरू विकल्पहरू त्यति प्रभावकारी देखिएका छैनन्,’ उनले भने, ‘विद्यालय बन्द हुँदा बालबालिकाहरूको पढाइको स्तर खस्किँदै गएको छ ।’

    यतिबेला एक्कासि विद्यालय बन्द हुँदा अन्य विकल्पबारे सोच्न नसकिएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टको भनाइ छ । केही दिनपछि विद्यार्थीहरूलाई खोप दिने कार्यक्रम रहेकाले त्यसपछि पालिकाले केही सोच्ने उनले बताए । ‘सरकारको अर्का निर्णय पनि हेर्छौं,’ उनले भने, ‘तत्काल वैकल्पिक माध्यमबाट पनि पढाइ सुरु गर्न सकिने अवस्था छैन । हाम्रो त पालिका पनि दुर्गम भएकाले भौतिक उपस्थितिबाहेक अरू विकल्प पनि छैनन् । फोनै राम्रोसँग नलाग्ने ठाउमा अनलाइन सम्भवै छैन ।’ खोप लगाइसकेपछि आफूहरूले के गर्ने भन्ने निर्णय गर्ने उनले बताए ।

    यस्तै जिल्लाका अन्य पालिकाहरूले पनि कुनै पनि माध्यमबाट पढाइ सुचारु गरेका छैनन् । खोप लगाउने कार्यक्रम भएकाले केही समय कुरेको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन नाथले बताए । बैतडीमा ५ सय ४० सामुदायिक विद्यालय छन् ।

    इन्टरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा प्रभावकारी नभएको गुनासो आएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए । अनलाइन चल्न सक्ने ठाउँमा पहिलो विकल्पका रूपमा अनलाइन कक्षा सञ्चालन गर्ने र नभएको ठाउँमा टोल कक्षालगायत विकल्पहरू पनि सोच्न सकिने उनले बताए । उनले भने, ‘शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन पालिकाहरूले पनि आफ्नो ठाउँ र परिवेशअनुसार योजना बनाउनुपर्छ ।’

    प्रकाशित मिति :माघ १७ २०७८ सोमवार - ११:२६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij