२०८२ फाल्गुण २७ गते बुधवार
१. समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? यस्तो छ निर्वाचन आयोगले प्रयोग गर्ने ‘सेन्ट लग’ विधि
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिव सम्पन्न भएको छ । प्रत्यक्षमा १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । तर समानुपातिकतर्फको सिट बाँडफाँड कसरी हुन्छ ? भन्ने आम चासोको विषय छ । निर्वाचन आयोगले दलहरुले प्राप्त गरेको सदर मतलाई सिटमा रुपान्तरण गर्न अन्तर्राष्ट्रिय रुपमा अभ्यासमा रहेको ‘सेन्ट लग’ विधिको प्रयोग गर्ने जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक गरी दुईवटा निर्वाचन प्रणालीको प्रयोग भएको छ । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सम्पूर्ण देशलाई एउटै निर्वाचन क्षेत्र मानेर दलहरुले बन्द सूचीमार्फत उम्मेदवारी दिने गर्दछन् । यस प्रणालीमा दलले प्राप्त गरेको कुल सदर मतको आधारमा सिट संख्या निर्धारण गरिन्छ ।
२. विशेष महाधिवेशन अनुचित सिद्ध भयो, सर्वोच्चले विचाराधीन मुद्दा छिटो टुङ्ग्याओस्ः नेता सिटौला
नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन अनुचित भएको बताउनुभएको छ । बुधवार सिंहदरबार परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको आन्तरिक विवादसँग जोडिएर सर्वोच्च अदालतमा पुगेको मुद्दालाई छिटो किनारा लगाउन आग्रह समेत गर्नुभयो । विशेष महाधिवेशनबारे नेता सिटौलाले संस्थागत रूपमा आफूहरूले त्यसलाई आवश्यक नठानेको स्पष्ट पार्नुभयो । पार्टीको आन्तरिक विषयलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दाले पार्टीको आगामी बाटो तय गर्न प्रभाव पार्ने भएकाले यसलाई छिटो टुङ्ग्याउनुपर्नेमा उहाँको जोड छ । अदालतको फैसलापछि मात्रै पार्टीभित्रको अन्योल हटेर अगाडि बढ्न सहज हुने उहाँको भनाइ छ ।
३. मध्यपूर्वमा रहेका ३० लाख नेपालीको उद्धारका लागि सरकारको पूर्वतयारीः परराष्ट्र मन्त्रालयमा ‘सिचुएसन सेन्टर’ स्थापना
अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले मध्यपूर्व लगायतका द्वन्द्वग्रस्त क्षेत्रमा रहेका लाखौं नेपाली नागरिकको सम्भावित उद्धारका लागि सरकारले पूर्वतयारी शुरु गरिसकेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले युद्धको समयमा मात्र नभई पूर्वयोजनाका साथ काम गर्न मन्त्रालयको अगुवाइमा ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिनुभएको हो । मध्यपूर्वमा युद्ध भड्किँदा नेपाली नागरिकलाई किन तत्काल स्वदेश फर्काइँदैन भन्ने आम जिज्ञासालाई सम्बोधन गर्दै मन्त्री शर्माले श्रमिकहरूको मनोविज्ञान र बाध्यता रहेको बताउनु भयो । मन्त्री शर्माकाअनुसार हाल औपचारिक रूपमा करिव १९–२० लाख र अनौपचारिक रूपमा समेत गर्दा २५ देखि ३० लाख नेपाली नागरिक विदेशमा छन् । यति ठूलो संख्यामा रहेका नागरिकलाई आवश्यक परेको खण्डमा उद्धार गर्नु चानचुने कुरा नभएको भन्दै उहाँले यसका लागि राष्ट्रिय स्तरमै योजना र पूर्वाधार आवश्यक पर्ने स्पष्ट पार्नुभयो ।
४. प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
निर्वाचन आयोगले करोडौं रकम खर्च गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बदर मतको प्रतिशत उल्लेख्य देखिएको छ । विशेषगरी प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) ५ प्रतिशतभन्दा बढी मत बदर भएपछि निर्वाचन आयोगले यसलाई गम्भीर रुपमा लिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनु भयो । बढीभन्दा बढी मतदातालाई मतदानमा सहभागी गराउने र बदर मत न्युनिकरण गर्ने उद्देश्यले यसपटक प्रभावकारी रुपमा मतदाता शिक्षा सञ्चालन गरिएको थियो । तर प्रारम्भिक तथ्यांकले आयोगको अपेक्षाअनुसार बदर मत कम हुन नसकेको देखाएको छ ।
समानुपातिकमा कम, प्रत्यक्षमा बढी बदर
सूचना अधिकारी घिमिरेले दिनुभएको जानकारीअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ करिव ३ प्रतिशतको हाराहारीमा मत बदर भएको छ । तर प्रत्यक्षतर्फ भने यो संख्या ५ प्रतिशतभन्दा माथि छ ।
उहाँले भन्नुभयो, ‘निर्वाचनमा निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रमको मूल उद्देश्य भनेको बढी भन्दा बढी मतदाताहरुलाई मतदान कार्यमा सहभागी गराउने र निर्वाचनको कार्यमा मतदानको कार्यमा हुने बदर मत प्रतिशतलाई न्युनिकरण गर्ने भन्ने उद्देश्य रहे बमोजिम यो पटकको निर्वाचनमा अलिकति प्रभावकारी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने उद्देश्य बमोजिम सञ्चालन भएको थियो ।
५. नेपाललाई ऐतिहासिक कुटनीतिक सफलताः राष्ट्र संघद्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ घोषणा
संयुक्त राष्ट्र संघले नेपालको प्रश्तावलाई स्वीकार गर्दै हरेक वर्षको अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ (इन्टरनेसनल वेलनेस डे) का रूपमा मनाउने घोषणा गरेको छ । मार्च १०, २०२६ मा बसेको संयुक्त राष्ट्र संघको महासभाले यस सम्बन्धी प्रश्ताव सर्वसम्मतिले पारित गरेको हो । नेपालको पहल र प्रश्तावमा संयुक्त राष्ट्र संघले कुनैपनि अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको यो पहिलो पटक हो । यसलाई नेपालको कुटनीतिक क्षेत्रमा एक ऐतिहासिक र गर्व गर्न लायक सफलता मानिएको छ । नेपालले राखेको उक्त प्रश्तावलाई छिमेकी राष्ट्रहरू भारत र चीनसहित दक्षिण एशियाका प्रायः सबै मुलुक गरी जम्मा ४० वटा देशले सहप्रायोजन गरेका परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले बताउनु भयो ।
६. काँग्रेस मासिन लागेको होइन, नयाँ ढंगले ‘रिस्ट्रक्चरिङ’ गर्नुपर्ने बेला आयोः सिटौला
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस मासिन लागेको नभइ अब उठ्ने बाटोमा लागिसकेको दाबी गर्नुभएको छ । बुधवार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी अब उठ्ने बाटोमा लागिसकेको दाबी गर्नुभयो । पार्टीको वर्तमान दुरावस्था र भविष्यका बारेमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै उहाँले काँग्रेसले इतिहासमा यस्ता अप्रत्याशित परिणामहरू पहिले पनि भोगेको स्मरण गराउनु भयो । उहाँले भन्नुभयो, ‘काँग्रेस मासिन बाटोमा गएको होइन, अब उठ्ने बाटो शुरु गरिसक्यो । विगतका इतिहासका घटना हेर्ने हो भने पनि हामीले यस्तो अप्रत्याशित परिणाम नभोगेको होइन । नेपाली काँग्रेसका नेता, कार्यकर्ता र लोकतन्त्रमा विश्वास गर्ने शुभेच्छुकहरू आत्तिनुपर्ने कुनैपनि अवस्था छैन ।
७. ‘सामान्य विधेयकलाई रोक्दैनौ, दुई तिहाई बहुमत आवश्यक पर्ने विषयहरूमा संवेदनशील हुनैपर्छ’ः राष्ट्रियसभा सदस्य शाही
राष्ट्रिय सभा सदस्य ललितजंग शाहीले प्रतिनिधि सभाबाट पारित भएर आएका विधेयक तथा ऐनहरुलाई राष्ट्रिय सभाले नरोक्ने बताउनुभएको छ । बुधवार नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका बहालवाला र नवनिर्वाचित सदस्यहरुसँग भएको परिचयात्मक कार्यक्रमपश्चात सञ्चारकर्मीहरुसग कुरा गर्द उहाँले यस्तो बताउनुभएको हो । उहाँले सामान्य विधेयक तथा ऐन निर्माणमा राष्ट्रिय सभाले प्रतिनिधि सभालाई सहयोग गर्ने बताउनु भयो । संविधान संशोधनको बारेमा भने राष्ट्रिय सभा संवेदनशील बन्ने उहाँको भनाइ छ । राष्ट्रिय सभाको भुमिका विधेयकहरूमा गम्भीर अध्ययन गरी आवश्यक सुधारसहित सुझाव दिने रहेको स्पष्ट पार्नुभयो । उहाँकाअनुसार प्रतिनिधि सभाबाट आएका विधेयक, ऐन–कानूनलाई राष्ट्रिय सभाले अध्ययन गरी कमी–कमजोरी देखिएमा सुधारका लागि राय–सल्लाहसहित पुनः प्रतिनिधि सभामा पठाउने संवैधानिक जिम्मेवारी रहेको छ ।
८. निर्वाचन परिणाम अप्रत्याशितः कृष्णप्रसाद सिटौला
नेपाली काँग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताउनुभएको छ । बुधवार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताउनुभएको हो । काँग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उहाँले बताउनु भयो । उहाँले निर्वाचन परिणामका यसबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख गर्नुभयो । निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उहाँको भनाई छ । उहाँले हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने बताउनु भयो ।
९.समाजमा कुष्ठरोगलाई हेर्ने दृष्टिकोण अझै नकरात्मकः कानूनमन्त्री सिन्हा
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले कुष्ठरोग स्वास्थ्यसम्बन्धी समस्या भएपनि समाजमा यसलाई हेर्न दृष्टिकोण अझै नकरात्मक रहेको बताउनुभएको छ । २८ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उहाँले कुष्ठरोग निवारणयोग्य स्वास्थ्य समस्या भएपनि समाजमा अझै उपेक्षा र नकारात्मक धारणा कायम रहेको बताउनुभएको हो । कुष्ठरोगबाट प्रभावित व्यक्तिहरु सामाजिक, मनोवैज्ञानिक र आर्थिक रुपमा समेत जटिल समस्यामा परेको उहाँले बताउनु भयो । उहाँले सामाजिक व्यवहार सुधार गर्न प्रारम्भिक चरणदेखि नै सकारात्मक शिक्षा आवश्यक रहेको बताउनु भयो । समाजमा फैलिएको गलत धारणा र भेदभावपूर्ण व्यवहार अन्त्य गर्न सामाजिक चेतना अभिवृद्धि अपरिहार्य रहेको उहाँको भनाई छ । प्रभावित व्यक्तिहरूले भोग्ने पीडालाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै उहाँले कुष्ठरोग निवारणका लागि सरकारले आवश्यक पहलहरू पर्याप्त रूपमा गर्न नसकेको स्वीकार गर्नुभयो ।
१०. अमेरिका–इजरायल सैन्य आक्रमणमा १३ सय भन्दा बढी इरानी सर्वसाधारणको मृत्यु
फेब्रुअरी २८ यता अमेरिका र इजरायलले इरानमा गरेको सैन्य आक्रमणमा १ हजार ३ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । अन्य ९ हजार ६ सय ६९ नागरिक स्थलहरू ध्वस्त भएका छन् । संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत तथा स्थायी प्रतिनिधि अमिर सइद इरावानीले ध्वस्त भएका नागरिक स्थलहरूमा ७ हजार ९ सय ४३ आवासीय घरहरू, १ हजार ६ सय १७ व्यावसायिक र सेवा केन्द्रहरू, ३२ चिकित्सा र औषधि सुविधाहरू, ६५ विद्यालय र शैक्षिक संस्थाहरू, १३ रेड क्रिसेन्ट भवनहरू र धेरै ऊर्जा आपूर्ति सुविधाहरू समावेश छन् । इरावानीले नागरिक लक्ष्यहरूमा आक्रमण गरिएका धेरै उदाहरणहरू सूचीवद्ध गर्नुभयो ।
११. अमेरिकाद्वारा इरानका माइन बिछ्याउने जहाजहरूमाथि आक्रमण
अमेरिकी सेन्ट्रल कमाण्डले मंगलवार होर्मुज जलडमरूमध्य नजिकै १६ वटा इरानी माइन बिछ्याउने जहाजहरूमाथि आक्रमण गरेको बताएको छ । अमेरिकी सेनाले मार्च १० मा होर्मुज जलडमरूमध्य नजिकै १६ वटा माइन बिछ्याउने जहाजसहित धेरै इरानी नौसेनाका जहाजहरू नष्ट गरेको बताइएको हो । ९ वटा जहाजहरूमा हतियार प्रहार भएको देखिएको छ । जसमध्ये धेरैजसो आक्रमणको समयमा किनारमा बाँधिएका जस्ता देखिन्थे । फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि भीषण आक्रमण गरेयता इरानले पानीमा नौसेनाका माइनहरू बिछ्याएको थियो वा थिएन भन्ने कुरा तत्काल स्पष्ट हुन सकेको छैन । इरानले होर्मुज जलडमरूमध्य हुँदै जाने अमेरिका र यसका सहयोगी देशहरूको फ्लीट (नौसेनाको समूह) को आवागमन रोक्न मिसाइल र पनडुब्बीहरूको प्रयोग गर्नेछ, इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्सका नौसेना कमाण्डर अलिरेजा तांगसिरीले बताउनु भयो ।
१२. इरानका नयाँ सर्वोच्च नेताद्वारा शपथ ग्रहण
इरानीहरूले देशका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीप्रति वफादारीको शपथ लिन देशभर आयोजित ठूला भेलाहरूमा सहभागिता जनाएका छन् । इरानको विशेषज्ञ सभाले नयाँ सर्वोच्च नेता नियुक्तिको घोषणा गरेको एक दिनपछि विभिन्न सहरहरूमा एकैसाथ यस्ता देशव्यापी समारोहहरू आयोजना गरिएका हुन् । राजधानी तेहरानको ऐतिहासिक इन्घेलाब स्क्वायरमा विभिन्न क्षेत्रका मानिसहरू र इरानी अधिकारीहरू भेला भएका थिए । उनीहरूले इरानको राष्ट्रिय झण्डा फहराउँदै नयाँ नेता र गत महिना अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिएका दिवंगत सर्वोच्च नेता अली खामेनीको तस्बिर बोकेका थिए । उनीहरूले नयाँ नेताप्रति वफादारी र समर्थन व्यक्त गर्दै नारा लगाएका थिए भने इरानविरुद्ध अमेरिका र इजरायलले गरेको अपराधको निन्दा गरेका थिए । उनीहरूले अमेरिका र इजरायलविरुद्धको लडाइँमा देशको सशस्त्र बललाई आफ्नो अटुट समर्थन रहने पनि बताएका छन् ।
१३. भारतमा खाना पकाउने ग्यासको चरम अभाव, सरकारद्वारा ‘अत्यावश्यक वस्तु ऐन’ लागू
भारतका केही राज्यहरू विशेष गरी दक्षिणी राज्य कर्नाटक र दक्षिण–पश्चिमी राज्य महाराष्ट्रमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएपछि भारतीय सांसदहरूले चिन्ता व्यक्त गरेका छन् । स्थानीय सञ्चारमाध्यमकाअनुसार मध्यपूर्वमा जारी द्वन्द्वको बाछिटाका कारण भारतमा एलपीजी आपूर्तिको श्रृङ्खलामा अवरोध आएको हो । केही दिनअघि मात्रै भारतमा घरेलु एलपीजी सिलिन्डरको मूल्य ६० भारतीय रुपैयाँ र व्यावसायिक एलपीजी सिलिन्डरको मूल्य ११५ भारतीय रुपैयाँले वृद्धि गरिएको थियो । मूल्य वृद्धि र अभावका कारण होटल तथा रेस्टुरेन्ट क्षेत्र नराम्ररी प्रभावित भएका छन् । ‘इन्डिया टुडे’ मा प्रकाशित एक रिपोर्टका अनुसार ग्यास अभावकै कारण मुम्बईका २० प्रतिशत होटल तथा रेस्टुरेन्टहरू बन्द हुने अवस्थामा पुगेका छन् ।
१४. मध्यपूर्वको द्वन्द्वका बीच क्रोएसियाले दुई साताका लागि इन्धनको मूल्यमा सीमा तोक्यो
क्रोएसियाली सरकारले आफ्नो आधिकारिक खातामा एक घोषणा गर्दै मोटर इन्धनको मूल्यमा दुई साताको लागि सीमा (क्याप) तोकेको छ । मंगलवारदेखि लागू हुने नयाँ नियमअनुसार, साधारण पेट्रोलको मूल्य प्रतिलिटर ०.०४ युरोले बढेर १.५० युरो पुग्नेछ भने डिजेलको मूल्य ०.०७ युरोले बढेर १.५५ युरो प्रतिलिटर पुग्नेछ । यो तोकिएको मूल्य मार्च २३ सम्म लागू रहनेछ । प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले सरकारको प्राथमिकता स्थिर ऊर्जा आपूर्ति सुनिश्चित गर्नु र नागरिक तथा व्यवसाय दुवैका लागि किफायतीपन कायम राख्नु रहेको बताएका छन् । मध्यपूर्वमा बढ्दो तनाव र होर्मुज जलडमरूमध्य हुँदै हुने निर्यातमा सम्भावित अवरोधका कारण विश्वव्यापी तेलको मूल्यमा वृद्धि भइरहेको बेला यो कदम चालिएको हो । होर्मुज जलडमरूमध्य एक प्रमुख नाका हो जहाँबाट विश्वको करिव २० प्रतिशत तेल ढुवानी हुने गर्छ ।
१५. विश्वव्यापी ऊर्जा बजारको दबाबका बीच इजिप्टद्वारा इन्धनको मूल्य वृद्धि
इजिप्टले विश्वव्यापी ऊर्जा बजारमा देखिएको असाधारण परिस्थितिलाई उद्धृत गर्दै आन्तरिक इन्धनको मूल्य बढाएको छ । देशको तेल मन्त्रालयले पेट्रोलियम तथा खनिज स्रोत मन्त्रालयको तथ्यांकअनुसार प्रमुख पेट्रोलियम पदार्थहरूमा करिव १४ प्रतिशतदेखि १७ प्रतिशतसम्म मूल्य वृद्धि भएको जनाएको हो । विज्ञप्तिका अनुसार ९५–अक्टेन पेट्रोलको मूल्य प्रतिलिटर २१ इजिप्टियन पाउन्डबाट बढेर २४ पाउन्ड (०.४५ अमेरिकी डलर) पुगेको छ । त्यस्तै, ९२–अक्टेन पेट्रोल १९.२५ बाट २२.२५ पाउन्ड, ८०–अक्टेन पेट्रोल १७.७५ बाट २०.७५ पाउन्ड र डिजेल १७.५ बाट २०.५ पाउन्ड पुगेको छ । यसैबीच, सवारी साधनका लागि प्रयोग हुने कम्प्रेस्ड नेचुरल ग्यास (सीएनजी) को मूल्य प्रतिघनमिटर १० पाउन्डबाट बढेर १३ पाउन्ड पुगेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले नयाँ मूल्य मंगलवार स्थानीय समय अनुसार बिहान ३ः०० बजे (०१०० जीएमटी) बाट लागू भएको जनाएको छ । यस समायोजनको कारण मध्यपूर्वमा भइरहेको भूराजनीतिक विकास र विश्वव्यापी ऊर्जा बजारमा यसको प्रत्यक्ष प्रभावबाट उत्पन्न असाधारण परिस्थितिलाई दिइएको छ ।
१६. इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
इरानको मिसाइल आक्रमणमा युएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको छ । बुधवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आवश्यक कानूनी प्रक्रिया पूरा गरी मृतक श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएको हो । कार्यक्रममा बोल्दै मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले श्रेष्ठको परिवारलाई आवश्यक क्षतिपूर्ति दिने प्रक्रिया समेत शुरु भइसकेको जानकारी दिनुभयो । उहाँले मध्यपूर्वमा बढ्दो तनावबारे परराष्ट्र मन्त्रालय, विदेशस्थित नेपाली नियोग तथा राजदुतावासहरुमार्फत जानकारी एवं ट्राभल एड्भाइजरी जारी गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘इरानको आक्रमणमा परी युएईमा ज्यान गुमाएका गोरखाका दिवस श्रेष्ठको पार्थिव शरिर नेपाल ल्याएर आवश्यक कानूनी प्रक्रिया पुरा गरी परिवारलाई हस्तान्तरण गरिएको छ । परिवारलाई आवश्यक क्षतिपुर्ती दिने प्रक्रिया समेत सुरु भएको छ ।’
१७. काँग्रेसका राष्ट्रिय सभाका सांसदहरूबीच परिचयात्मक कार्यक्रम शुरु
नेपाली काँग्रेसको राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित सदस्यहरूबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम शुरु भएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका वहालवाला तथा नवनिर्वाचित सदस्यहरूबीच परिचय, छलफल र अन्तरक्रिया शुरु भएको हो । गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा काँग्रेसका कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, वागमती प्रदेशबाट गीता देवकोटा गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती निर्वाचित भएका थिए । राष्ट्रिय सभामा काँग्रेस अब २५ सांसदसहित सबैभन्दा ठूलो पार्टी बनेको छ ।
१८. पश्चिम एशियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैनः परराष्ट्र सचिव राई
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
पश्चिम एशिया (मध्यपूर्व) मा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र मन्त्रालय गम्भीर रहेको सरकारले स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियाको विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहेको जानकारी दिनुभएको हो । परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिव राईले तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था नरहेको स्पष्ट पार्नुभयो । सचिव राईकाअनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका आफ्ना कुटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ । सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरु कार्यक्षेत्रमा रहेका नेपाली नियोगहरुमार्फत निरन्तर कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो ।
१९. सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
मध्यपूर्वमा बढ्दो तनावकाबीच ५ हजार नेपाली नागरिकले आफू असुरक्षित रहेको जानकारी सरकारी संयन्त्रमा टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधवार मन्त्रालयले प्रेस ब्रिफिङको आयोजना गर्दै सो जानकारी गराएको हो । ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले पश्चिम एशियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ५ हजार बढी नागरिकले आफ्नो अवस्था असुरक्षित रहेको जानकारी गराएको उल्लेख गर्नुभयो । यद्यपि पछिल्लो समयमा विवरण अद्यावधिक गर्दै केहीले आफू सुरक्षित रहेको जानकारी समेत गराइसकेको उहाँको भनाइ छ । असुरक्षित रहेका नागरिकहरुको सुरक्षाका लागि विदेशस्थित नियोगहरुसँग आवश्यक समन्वय भइरहेको समेत क्षेत्रीको भनाइ छ । बढ्दो तनावका कारण समस्यामा परेका नागरिकको सुरक्षाका लागि सरकारले गम्भीरतापूर्वक काम गरिरहेको उहाँको भनाइ छ ।
२०. काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गर्नुभएको छ । बुधवार सिंहदरवारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरुबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो माग गर्नुभएको हो । विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गर्नुभयो । उहाँले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताउनु भयो । सांसद थापाले काँग्रेसले जनताले दिएको म्यान्डेटलाई स्विकार गर्दै अघि बढ्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो,‘जनताले जुन म्यान्डेट दिएको छ । त्यो स्विकार्य छ । त्यही मान्डेटअनुसार हामीले राम्रो काम गर्दै जानुपर्छ ।
२१. प्रतिनिधि सभा निर्वाचनः २,८९० उम्मेदवारको जमानत जफत, ३५० जनाले एक भोट पनि पाएनन्
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिष्पर्धा गरेका हजारौं उम्मेदवारहरुको धरौटी (जमानत) जफत भएको छ । निर्वाचन आयोगकाअनुसार यसपटकको निर्वाचनमा २ हजार ८ सय ९० जना उम्मेदवारले आफ्नो जमानत जोगाउन सकेनन् । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले दिनुभएको जानकारी अनुसार निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले कानून बमोजिम निश्चित धरौटी रकम राख्नुपर्ने व्यवस्था छ । उहाँले भन्नुभयो, ‘यो जमानत राखिएका उमेदवारहरुमध्ये जसले सदर मतको १० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुहुन्छ उहाँहरुको जमानत फिर्ता हुन्छ पछि । तर १० प्रतिशत सदर मतको १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उमेदवारहरुको जमानत जफत भन्ने हुन्छ ।
२२. एनआरएनएको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता शुरु
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता शुरु भएको छ । फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि मनोनयन दर्ता शुरु भएको हो । जेन—जी आन्दोलनपछिको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अनलाइनमार्फत पनि मनोनयन दर्ता गर्न सकिने व्यवस्था एनआरएनले मिलाइएको छ । दुई वर्षे कार्यकालका लागि अन्तर्राष्ट्रिय महाधिवेशनबाट ७४ पदका लागि भौतिक उपस्थित र अनलाइनबाट उम्मेदवारी दर्ता गर्नसक्नु व्यवस्था मिलाइएको छ । फागुन २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गतेसम्म उम्मेदवारविरुद्ध दाबी विरोध गर्न पाइनेछ । २७ गते नै उम्मेदवारको मनोनयपत्रको जाँचबुझ र उजुरीउपर निर्णय हुनेछ । फागुन २७ गते नै उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुनेछ । २८ गते उम्मेदवारले आफ्नो मनोनय पत्र फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । फागुन २८ गते नै अनलाइन माध्यमबाट निर्वाचन गराउने कम्पनीलाई उम्मेदवारको अन्तिम नामावली उपलब्ध गराइनेछ ।
२३. विश्व बैंकद्वारा नेपाललाई ५ करोड २० लाख डलर ऋण स्वीकृत
विश्व बैंकले नेपाललाई ५ करोड २० लाख डलर सहुलियतपूर्ण ऋण उपलव्ध गराउने भएको छ । विश्व बैंकको बोर्ड बैठकले नेपालमा वायु प्रदुषण न्युनिकरण र वायु गुणस्तर व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन ५ करोड २० लाख अमेरिकी डलर अर्थात करिव ६ अर्ब ९० करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको हो । ‘नेपाल स्वच्छ वायु र समृद्धि परियोजना’नाम दिइएको यस कार्यक्रमले विशेष गरी औद्योगिक र व्यावसायिक क्षेत्रमा प्रयोग हुने बोयलर तथा भट्टीहरूबाट निस्कने हानिकारक सूक्ष्म कणको उत्सर्जन कम गर्ने लक्ष्य राखेको छ । यो परियोजना मुख्यतया काठमाडौं उपत्यका, तराई र पहाडी फेदीका क्षेत्रहरूमा केन्द्रित हुनेछ, वायु प्रदुषणको जोखिम उच्च रहेका ती ठाउँमा परियोजना लागू हुने विश्व बैंकले जानकारी दिएको छ ।
२४. राष्ट्रिय लिगमा लालीगुराँसको लगातार तेस्रो बराबरी
लालीगुराँस एशोसिएशनले लगातार तेस्रो खेलमा बराबरीको नतिजा व्यहोरेपछि जारी राष्ट्रिय लिगमा शिर्ष स्थानको दाबेदारी कमजोर भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको पहिलो खेलमा लालीगुराँस न्युरोड टिम (एनआरटी) क्लवसँग १–१ गोलको बराबरीमा रोकिन पुग्यो । लालीगुराँसका आशिष गुरुङ र एनआरटीका कप्तान अञ्जन बिष्टले गोल गरे । लालीगुराँसको लगातार तेस्रो बराबरीमा हो । यसअघि लालीगुराँसले आठौं खेलमा फ्रेण्ड्ससँग १–१ र नवौं खेलमा संकटा क्लवसँग गोलरहित बराबरीको नतिजा बेहोरेको थियो । दशौं खेलमा पनि लालीगुराँसले जित निकाल्न सकेन । सातौं चरणसम्म लिगमा अग्रता लिएको लालीगुराँसको शिर्ष स्थान होड कमजोर भएको छ । एक खेल कम खेलिसकेको मच्छिन्द्रसँग लालीगुराँस दुई अंकले पछि परिसकेको छ । यद्यपि, एनआरटीविरुद्ध लालीगुराँसले खेलमा पुनरागमन गरेको हो ।— न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij