२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् ।
राज्यमन्त्री श्रेष्ठले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उल्लेख गर्दै ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्ने बताएका हुन्।
शनिबार काठमाडौंको सानो भर्याङस्थित स्वस्तीश्री गुरुकुल विद्यालयले आयोजना गरेको एक कार्यक्रमलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै उनले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्याउने काममा सरकार लागि परेको बताए ।
राज्यमन्त्री श्रेष्ठले भने,‘अव संघीय कानुन बनि सकेपछि तीन वटा कानुन बन्दैछ । एउटा स्कुल लेवलको कानुन । टेक्निकल शिक्षाको कानुन र उच्च शिक्षाको काननु बन्छ । त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढि बन्छ । त्यो कुराको अपेक्षा गरौं । यस कुरामा म तपाईहरुलाई आश्वस्त पनि गराउन चाहन्छु ।’
राज्यमन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान गरे । कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष रामकृष्ण चित्रकारले विद्यालयको शैक्षिक क्रियाकलापका बारेमा जानकारी गराएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij