२०८२ भाद्र ६ गते शुक्रवार
काठमाडौं । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नगरपालिका संघका अध्यक्ष शोक कुमार ब्याञ्जु (श्रेष्ठ) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बोलाएका बैठकमा सहभागी भएनन् ।
शिक्षामन्त्री देवेन्द्र पौडलले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) न्युनतम पारिश्रमिक, शिक्षक तथा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप र विद्यालयको अवस्थाबारे छलफल गर्न साेमबार बैठक राखेका थिए ।
सो बैठकमा महासंघ र संघका अध्यक्षहरू सहभागी भएनन् ।बैठकको निर्णयबारे जानकारी लिन मंगलबार बिहान फोन गर्दा गाउँपालिका महासंघका अध्यक्ष श्रेष्ठले आफू कार्यव्यस्तताका कारण बैठकमा उपस्थित नभएको जानकारी दिए ।
उनले बैठकको निर्णय पनि जानकारी नभएको बताए । त्यसैगरी नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले पनि कार्यव्यस्तताका कारण आफू बैठकमा उपस्थित नभएको जानकारी दिए ।
खास के हो समस्या?
देउवा सरकारका अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते जारी गरेको प्रतिस्थापन बजेटमा तलब थप गरिने घोषणा गरे।
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सङ्घीय सरकारले मासिक ८ हजार र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिने घोषणा गरेपछि उत्साहित भएका शिक्षक कर्मचारी स्थानीय तहले बेवास्ता गरेपछि निराश बने।
यो निराशाकै बिच सरकारले तोकेबमोजिम तलब नदिएको भन्दै देशका विभिन्न स्थानीय तहमा आन्दोलन सुरु भयो। छोटो समयमै यो आन्दोलन देशभर फैलियो।
आन्दोलनको उपलब्धि स्वरूप कतिपय स्थानीय निकायले तलब थपेर दिए, कतिपयले वार्तामार्फत मध्यविन्दु खोजेर समाधान गरे भने कतिपयले पेलेरै अघि बढ्ने रणनीति लिए। यसरी समस्या समाधान नभएका स्थानीय तहका शिक्षक कर्मचारीले शिक्षामन्त्री गुहारेका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij