२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ ।
समितिले बुधबार मन्त्रीलाई प्रतिवेदन बुझाउँदै भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त स्थान हुने भनेको छ ।
समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सुर्यविनायक नगरपालिका–८ जागती, सुर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका–१० चित्लाङ्गमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।
संघीय शिक्षक अस्पतालका लागि हाल ३०० शैया क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडी बढाउने सोको लागि नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डले तोके बमोजिम जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाउने निष्कर्षसमेत समितिले निकालेको छ ।
प्रतिवेदन बुझ्दै मन्त्री देवेन्द्र पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषद्मा लैजाने बताए ।
समितिले दिएका प्रस्तावित जग्गाहरुको विषयमा थप अध्ययन हुन्छ,’ मन्त्री पौडेलले भन, ‘अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान्छु ।’
अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४०देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ ।
शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिमा डा. विमल शर्मा चालिसेको संयोजकत्वमा काक्तिक २२ गते ७ सदस्यीय समिति गठन भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij