२०८२ भाद्र ९ गते सोमवार
शिक्षक सेवा आयोगले प्राथमिक (प्रा.वि.) तहको १३०९२ जना शिक्षकको नयाँ पदपूर्तिको लागि खुला गरेको विज्ञापन संशोधन गरेको छ। आयोगले आज थप विज्ञापन गर्दै यस अघि गरेको विज्ञापनमा ४२३ दरबन्दी बढाएर विज्ञापन संशोधन गरेको हो। आयोगले आज संसोधन गरेको विज्ञापन हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्।
getfiles.pdf :To download file click here
आयोगले यस अघि प्राबि तहको विज्ञापन पुस १४ गते गरेको थियो। त्यसैगरी आयोग आन्तरिक तर्फको बढुवाको विज्ञापन पनि केही दिन भित्रै गर्ने तयारीमा जुटेको आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले जानकारी दिए । ‘हामी आन्तरिक तयारीमा छौं । केही दिन भित्रै गर्छौ ’ उनले भने।
अनलाइनबाट आवेदन दिने यस्तो छ सजिलो तरिका
शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा यसपटकदेखि अनलाइन माध्यमबाट फाराम भर्ने व्यवस्था गरिएको छ। आयोगको कार्यालयमै पुगेर फाराम भर्न समय धेरै लाग्ने भएपछि यसपटकदेखि अनलाइन माध्यमबाट फाराम भर्न मिल्ने व्यवस्था गरेको हो।
आयोगको वेबसाइटको सर्भर ह्याङ नहोस् भन्नका लागि आयोगले फाराम भर्न अर्काे वेबसाइट प्रयोगमा ल्याएको छ। फाराम भर्ने प्रयोजनका लागि आयोगले अनलाइन डट टीएससी डट जीओभी डट एनपी नामको वेबसाइट ल्याएको छ। आवेदन फाराम भर्न परीक्षार्थीले आवश्यक न्यूनतम शैक्षिक योग्यताको कागजपत्र र अनुहार प्रस्ट देखिने गरी खिचेको तस्बिर स्क्यान गरेर अपलोड गर्नुपर्ने हुन्छ।
आयोगको नयाँ अनलाइन खोलेपछि त्यहाँ एकाउन्ट लगइन/रजिस्टर देखाउँछ। लगइन गरेपछि इमेल ठेगाना र पासवर्ड राख्नुपर्ने हुन्छ। त्यसपछि डिजिटको ओटीपी (वान टाइम पासवर्ड) आयोगले पठाउँछ। अनि भेरिफाइ भएको एकाउन्टबाट व्यक्तिगत विवरणदेखि अनुभवसम्मका सबै कुरा त्यहाँ देखिए अनुसार भर्दै जानुपर्छ।
व्यक्तिगत विवरणमा नाम, बीचको नाम, थर, लिंग, जन्ममिति, नागरिकता नम्बर, नागरिकता जारी भएको स्थान, विषय लगायतको विवरण भरेर स्थायी ठेगाना र सम्पर्क ठेगाना प्रदेश, जिल्ला, स्थानीय तह र वडा नम्बर लगायत भर्नुपर्ने हुन्छ।
अध्यापन अनुमतिपत्रसम्बन्धी विवरणमा अध्यापन अनुमतिपत्र प्राप्त तह, त्यसको प्रकार, त्यसको क्रम संख्या, अनुमति पत्र प्राप्त गरेको मिति र आयोगले निर्णय गरेको मिति उल्लेख गर्नुपर्छ। अनुभवको रुपमा यसअघि काम गरेका विद्यालयको विवरण, न्यूनतम शैक्षिक योग्यताको विवरण, तालिम विवरण, कागजात भर्नुपर्ने हुन्छ।
नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, अध्यापन अनुमतिपत्र, तालिमको प्रमाणपत्र, समावेशी समूह खुल्ने कागजातको जेपीजी फर्म्याटमा दुई सय केबीभन्दा कम फोटो साइज बनाउनुपर्छ। यति विवरण भरेपछि भौचर प्राप्त हुन्छ र त्यसलाई प्रिन्ट गरेर बैंकमा राजस्व तिर्न जानुपर्छ। नेपाल बैंक लिमिटेड वा राष्ट्रिय वाणिज्य बैंकमध्ये कुनै एक बैंकमा गई राजस्व तिर्न सकिने आयोगले जनाएको छ।
राजस्व तिरेपछि बैंकले महालेखा नियन्त्रणको कार्यालयलाई रकम भुक्तानी गरेको जनाउँ दिन्छ। एउटा समूहका लागि एक हजार रुपैयाँ शुल्क तिर्नुपर्छ र प्रति थप समूहका लागि छ सय रुपैयाँका दरले रकम बुझाउनुपर्ने व्यवस्था छ।
रकम भुक्तानी गरेपछि श्यामश्वेत प्रवेशपत्र प्राप्त हुन्छ। त्यसलाई प्रिन्ट गरेर सुरक्षित राखी परीक्षाका बखत लैजानुपर्छ। परीक्षार्थीले आवेदन फाराम भर्दा सुरुमा राखिएको पासवर्ड भने बिर्सनु हुँदैन। त्यसका आधारमा प्रवेशपत्र प्रिन्ट गर्न सकिन्छ। यसरी प्रिन्ट गरेको प्रवेशपत्र अन्तर्वार्तासम्मलाई काम लाग्ने भएकाले सुरक्षित राख्न आयोगले सुझाएको छ। (छानबिनबाट)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij