२०८२ भाद्र ८ गते आइतवार
शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा १० दिनका लागि पठनपाठन बन्द गरिएको छ ।
विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि शुक्रबार विद्यालयका शिक्षक सहित विद्यालय कर्मचारीको परिक्षण गरिएको थियो ।
उक्त परिक्षणमा थप एक शिक्षकमा कोरोना संक्रमण देखिएपछि संक्रमित दुबै शिक्षकले पठनपाठन गराउने सबै कक्षाका विद्यार्थीहरुमा कोरोना परिक्षण गरिएको थियो ।
१७ जना शिक्षक कर्मचारीमध्ये दुई जना र ८२ जना विद्यार्थीहरुमा गरिएको परीक्षणमा १० जनागरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि १० दिनका लागि विद्यालयको पठनपाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
शिक्षकहरुको अस्थायी कोभिड अस्पताल पिप्ले र विद्यार्थीहरुको विद्यालयमै एन्टीजेन विधिबाट कोरोना परिक्षण गरिएको थियो। १० दिनपछि पुनः कोरोना परिक्षण गरिने र संक्रमण नभेटिएपछि मात्रै विद्यालय सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेपनि जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी) को बैठकले कारोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सावधानीलाई कडाइका साथ लागूगर्ने तर तत्काल जिल्लामा शैक्षिक संस्था बन्द नगर्ने निर्णय गरेको छ ।
म्याग्दीमा स्मार्ट लकडाउनलाई कार्यान्वयन गर्ने र सोहि कार्यविधि बमोजिम कोरोना संक्रमणको अवस्था हेरेर बन्द तथा लकडाउनको निर्णय गरिने जनाईएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij