नवलपरासी । दिउँसो करिब तीन बजे कक्षा १२ मा अध्ययन गर्ने एउटा बिद्यार्थीको फोन आयो।उसले सोध्यो,“सर,मेरो अगाडि एउटा परेवा छ।उक्त परेवा भाले हो या पोथी हो ?” म किंकर्तव्य बिमूढ भएँ । मैले भनें, “ बाबू ! त्यो परेवालाई हा गर । उड्यो भने भाले हो,उडि भने पोथी हो ।”
हुन त मेरो अगाडी नै कुनै परेवा देखें भने पनि भाले पोथी नचिन्ने मैले करिब ५ किलोमीटरको दुरिमा रहेको उसको घरको आँगनको परेवाको लिङ्ग चिन्ने कुरै भएन । र मेरो जवाफ ठिक भयो या भएन,त्यो तपशिलको कुरा हो ।
हाल विभिन्न तहमा शिक्षक सेवा आयोगले तयार गरेको पाठ्यक्रमको ढाँचा हेर्दा शिक्षक हुन चाहनेले अलौकिक स्थानको परेवाको लिङ्ग छुट्याउनै परे जसरी १०० पुर्णाङ्कको बस्तुगत बहुबैकल्पिक परीक्षामा प्राथमिक , निम्नमाध्यमिक र माध्यामिक तहमा सोही प्रकृतिका प्रश्नहरुको सामना गर्नै पर्छ । ५० अङ्क नल्याए ऊ स्वतः दोस्रो पत्र अर्थात बिषयगत परीक्षाबाट वञ्चित हुन्छ ।
शिक्षक सेवा आयोगले निर्माण गरेको पाठ्यक्रम हाम्रो माध्यामिक तह सम्मको पाठ्यक्रमले निर्दिष्ट गरेको बिषयवस्तुलाई आधार मानेर निर्माण गरेको हुनु पर्छ । तर एउटा माध्यमिक तहमा अध्यापन गर्ने कुनै खास बिषयका लागि प्राप्त गरेको उसको प्रमाणपत्र र बिषयगत अध्यापन अनुमती पत्र असिमित सामान्यज्ञानका सबै विधा जान्नका लागि र पढाउनका लागि थियो ? मेरो जिज्ञासा !!
शिक्षकको अधिकांश ज्ञान विषयगतका साथै शिक्षा तथा देशको संबिधान र ऐन कानुन संग सम्बन्धित हुनु पर्छ । शिक्षकमा नियुक्ती लिन “प्रथम किराँती राजा को थिए ?“ भन्ने प्रश्नको उत्तरले उसलाई र उसका विद्यार्थीहरुलाई कुन उत्पादन संग महत्व राख्छ ? कुन जीवन निर्वाह गर्न उपयोगी हुन्छ ? र त्यो नजान्दा उसलाई दैनिक जीवनमा कहाँनेर नोक्सान हुन्छ ?
माध्यमिक तहको सबै विषयमा शिक्षक हुन
सामान्यज्ञान ४० अङ्क
शिक्षा सम्बन्धी आधारभुत ज्ञान २४ अङक
बौद्धिक परिक्षण १६ अङ्क
सुचना सञ्चार प्रविधि १० अङ्क
संविधान,शिक्षा सम्बन्धी ऐन नियम १० अङ्क
छुट्याइएको छ । उक्त परीक्षामा अन्दाजीको भरमा उत्तर मिलाएर ५० अङ्क प्राप्त गर्ने सबै विषयगत परीक्षाका लागि योग्य मानिन्छन् । एउटा माध्यमिक तहको नेपाली वा अंग्रेजी अध्यापन गर्ने शिक्षकले कुनै मुर्खले सोधेका “कतिवटा त्रिभुज छन् ? विचमा कुन अङ्क हुन्छ ?“ जस्ता असम्बन्धित प्रश्नको उत्तर नजानेमा तर विषयगत रुपमा ऊ दक्ष भएमा के ऊ नेपाली वा अंग्रेजी विषय शिक्षक हुन अयोग्य हुन्छ त ?
शिक्षक सेवा आयोगको वस्तुगत परीक्षामा उत्तीर्ण हुन नसक्ने, शिक्षा ऐन, संविधान, शैक्षिक कुरा जानेको र विषयमा पोख्त उम्मेद्वार विषयगत परीक्षाका लागि अयोग्य हुने तर विषयगत दक्षता कम भएको र अन्दाजका भरमा वस्तुगतमा न्युनतम ५० अङ्क ल्याउने उम्मेद्वार माध्यमिक तहको योग्य शिक्षक हुने अवस्था शिक्षक सेवा आयोगको वर्तमान पाठ्यक्रमले गरेको छ जुन उपयुक्त होइन ।
आयोगले शिक्षा सम्बन्धि ज्ञान, संबिधान , ऐन नियमलाई अधिकांश अङ्क छुट्याएर परीक्षा लिनु उपयुक्त हुन्छ । निम्न माध्यमिक र माध्यमिक तहमा विषयगत दक्षता महत्त्वपूर्ण हुन्छ । प्रथम पत्रमा सफल उम्मेदवारको प्रथम पत्रमा प्राप्त गरेको अङ्कको ५०% अङ्क दोस्रो पत्रमा जोडिनु पनि उपयुक्त होइन । आयोगले परीक्षाको पाठ्यक्रममा परिवर्तन गर्नु अनिवार्य छ ।
साथै माध्यमिक तहको सामाजिक अध्ययन विषयका लागि राजनितिशास्त्र वा समाजशास्त्र अध्ययन गरेकालाई मात्रै सहभागी हुन पाउने व्यवस्था गर्नु पर्छ । शिक्षक सेवा आयोगले पाठ्यक्रम निर्माण समितिमा निबृत्त तहगत शिक्षकहरुलाई समेत सहभागी बनाउनु उपयुक्त हुन्छ । हाल कक्षा ११÷१२ को रिक्त दरबन्दी समेत र उक्त तहको आवश्यक पर्ने सबै अनिवार्य बिषयको संख्या थपेर यसै विज्ञापन अनुसार सुचना जारी गर्नु आवश्यक छ । कुसुम न्यौपाने (शिक्षक) जनता मा वि मंगलचौर,अरुणखोला,नवलपरासी (पुर्व)