२०८२ भाद्र ८ गते आइतवार
कोरोना भाइरससम्बन्धी सरकारी नियमहरूको विरोध गर्दै फ्रान्सका शैक्षिक युनियनहरूले बिहीबार राष्ट्रव्यापी हडताल गरेका छन् । विद्यालयमा हजारौं विद्यार्थीहरू कोरोनाबाट बिरामी परेको भन्दै शिक्षकहरूले विपत्तिजनक अवस्थामा पनि सरकारले नियमहरू मात्रै बदल्ने गरेको आरोप लगाएका छन् ।
फ्रान्सको सबैभन्दा ठूलो शैक्षिक युनियन स्नुइपसुलेले लगभग ८० प्रतिशत कर्मचारीहरू हडतालमा गएको दाबी गरेको छ । तर फ्रान्सको शिक्षा मन्त्रालयले हडताल गर्नेहरूको संख्या राष्ट्रिय स्तरमा कुल २७ प्रतिशत रहेको सार्वजनिक गरेको छ । प्राथमिक विद्यालयहरूमा भने करिब ४० प्रतिशत कर्मचारीहरू हडतालमा उत्रिएको बताएको छ ।
हडतालका कारणले कम्तीमा आधा विद्यालयहरू बन्द भएको फ्रान्सेली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शैक्षिक युनियनहरूले यसलाई ऐतिहासिक गतिशीलता भनेका छन् । उनीहरुले यो भाइरसविरुद्धको हडताल नभएर 'विद्यालयहरूमा बढ्दो आक्रोशको प्रतिबिम्ब' भनेका छन् ।
हडतालमा उत्रिएका धेरै शिक्षकहरूले 'हामीहरू संकटमा छौं', ‘प्रोटोकलको अविश्वाश = अव्यवस्थित विद्यालय= शिक्षक र विद्यार्थी संकटमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।
'हडताल ऐतिहासिक छ । स्कुलहरूमा धेरै लामो समयदेखि यति धेरै हडलकर्ताहरू कहिल्यै थिएनन्,' सबैभन्दा ठूलो शिक्षक युनियनको रोन क्षेत्रका सह-सचिव बेन्जामिन ग्रान्डनरले पत्रकार सम्मेलनमा भनेका छन् । विद्यालयहरू कागजमा खुला भए पनि वास्तवमा शिक्षकहरुले विद्यार्थीहरूलाई सिकाउन असक्षम रहेको भनाइ शिक्षकहरूको छ ।
विद्यालयको नयाँ शैक्षिक सत्र सुरु भएदेखि नै शिक्षकहरुले तीन पटक प्रोटोकल परिवर्तन गरिसकेको, हरेक हप्ता, हरेक दिन अभिभावकहरूलाई फरक-फरक जानकारी दिने गरेकोले अभिभावक, शिक्षक र विद्यार्थी सबै हैरान परेको शिक्षकहरुको भनाइ छ । शिक्षकहरूले सरकारमाथि कोरोना महामारीलाई राम्रोसित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका छन् । कतिपय शिक्षकले आफ्नो स्कुलमा अघिल्लो हप्ताभरिमा ३० जना संक्रमित भएकोमा हाल एकै दिन ५२ विद्यार्थीहरुमा कोरोना लागेको तर त्यसमा कुनै परिवर्तन नभएको गुनासो गरेका छन् ।
स्कुलका शिक्षक र विद्यार्थीहरूलाई सुरक्षित बनाउन लामो समयदेखि मास्क मागिरहेको, कतिपय स्कुलमा एक वर्ष अघि किनिएको मास्क लगाउन बाध्य भएको र मन्त्रालयले शिक्षकलाई सर्जिकल मास्क वा एफएफपी-२ मास्क आपूर्ति नगरेको आरोपसमेत शिक्षकहरुको छ ।
स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरू सबैभन्दा धेरै तनावमा रहेको शिक्षकहरूले बताएका छन् । ती विद्यार्थीले मार्चमा विशेष परीक्षा दिनुपर्ने तर तिनका सबै कक्षाहरू छुटेकाले उनीहरु तनावमा रहेको भनाइ तिनको छ । सबै विद्यार्थीहरुलाई भर्चुअल माध्यमको पहुँच नभएको, सबै शिक्षकले त्यो प्रविधि नजानेको भन्दै सरकारले भर्चुवल शिक्षा भनेर व्यवहारिकता नहेरी लाद्ने काम गरेको आरोप युनियनहरुले लगाएका छन् ।
कसैलाई कोभिड-१९ भएको छ भने कक्षाका सबै विद्यार्थीहरूले हप्तामा तीन पटक कोरोना परीक्षण गर्नुपर्ने, अन्यथा कक्षा बन्द गर्नुपर्ने सरकारले गत साता सर्कुलर गरेको भन्दै शिक्षकहरु थप आक्रोशित बनेका हुन् ।
शिक्षकहरूले देशव्यापी हडताल गरेकै दिन प्रधानमन्त्री जँ कास्टेक्स र शिक्षक प्रतिनिधिहरूबीच विहिवार साँझ ढिलोसम्म वार्ता भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij