२०८२ भाद्र ८ गते आइतवार
छुट अस्थायी करार शिक्षक संघर्ष समितिले शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धामा आफूहरुलाई सहभागी गराउन माग गर्दै शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ।
समितिकी अध्यक्ष अनिता थापालगायतको टोलीले मन्त्री पौडेललाई भेटेर आफूहरुले पटकपटक स्थायी प्रक्रियामा लान आग्रह गरे पनि सरकारले नसुनेको भन्दै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न ध्यानाकर्षण गराएको हो।
२०७२ असोज २ गतेसम्म नियुक्त भएका शिक्षक स्थायीको प्रक्रियामा लगेको भए पनि त्यसपछि नियुक्त भएका अस्थायी शिक्षकलाई राज्यले बेवास्ता गरेको आरोप समितिको छ। नयाँ खुला विज्ञापनसँगै उनीहरु बेरोजगार हुनुपर्ने अवस्था आएकाले यसतर्फ सरकारको ध्यान पुर्याउन शिक्षक महासंघसहितको पहलकदमीमा उनीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
समितिले २०७२ असोजपछि अस्थायी नियुक्त शिक्षकलाई संघीय शिक्षा ऐनमा एकपटकका लागि उमेरको हदबन्दी नलाग्ने गरी आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ। देशभरका छुट अस्थायी करार शिक्षकले विगतदेखि स्थायीको प्रक्रियामा लान माग गर्दै आन्दोलन गर्दै आएका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij