२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । शिक्षा मन्त्रालयले माघ १५ सम्म विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पढाइ जारी राख्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको थियो । भौतिक उपस्थितिका कक्षा बन्द भए पनि अनलाइनलगायत वैकल्पिक माध्यमबाट सिकाइ अभियान सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।
विश्वव्यापी कोरोना महामारीका कारण नेपालमा तेस्रोपटक विद्यालय बन्द गरिएको हो । यसअघि शैक्षिकसत्र २०७६ अन्त्यमा विद्यालय बन्द भएका थिए । त्यसकारण २०७७ को शैक्षिकसत्र असारमा मात्रै सुरु गरिएको थियो । २०७७ माघदेखि कोरोना दोस्रो लहरका कारण विद्यालय पुन: बन्द रहे । यो अवधिमा पनि कतिपय स्थानीय तहले भने स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गरेका थिए ।
विद्यालय बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन मन्त्रालयले विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ ।
विद्यालय बन्द रहे पनि अललाइन, रेडियो, टेलिभिजन, टेलिफोन, प्रिन्टलगायत सिकाइ सामग्री, पाठ्यपुस्तकको सहयोगले सिकाइलाई निरन्तरता दिन सकिने विज्ञहरूले बताएका छन् । विगतमा विद्यालय बन्द हुँदा कतिपय पालिका र विद्यालयमा शिक्षकले सानो–सानो समूह बनाएर तथा घरदैलो गरेर पनि विद्यार्थीलाई सहजीकरण गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij