२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ताहरूले (इसीडी शिक्षक) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलसँग भेटगरी तलब समस्याबारे ध्यानाकर्षण गराएका छन् । नेपाल बालविकास शिक्षक, केन्द्रीय समिति अध्यक्ष कृष्ण कुमारी थापा मगर नेतृत्वको ३५ सदस्यीय टोलीले आइतबार मन्त्री पौडेललाई शिक्षा मन्त्रालयमै भेटेर आफ्ना समस्या सुनाएका हुन् ।
इसीडी शिक्षकको पारिश्रमिक निकासा सम्बन्धि आर्थिक वर्ष २०७८/७९ को बुँदा नं.२१६ मा व्यवस्था भएअनुसार सात हजार रूपैयाँ स्थानीय तहले निकासा दिनुपर्ने स्पष्ट व्यवस्था छ । स्थानीय तहले तलबस्वरूप सो रकम नदिएपछि इसीडी शिक्षकहरू शिक्षामन्त्रीसम्म पुगे ।
अध्यक्ष कृष्ण कुमारी थापा मगरले शिक्षामन्त्री पौडेललाई आफूहरूले तलब, दरबन्दी, उमेर हदबन्दी र शैक्षिक योग्यताको विषयमा ध्यानाकर्षण गराएको जानकारी दिइन् ।
‘संघीय सरकारबाट आठ हजार र स्थानीय तहबाट सात हजार गरी हामीलाई मासिक तलब १५ हजार तोकिएको छ । हामीले सात हजार स्थानीय तहबाट पाएका छैनौं । बालविकास सहजकर्ताहरू दरबन्दीमा छैनन् । दरबन्दीमा लैनानुपर्यो । बालविकास सहजकर्ताहरूको शैक्षिक योग्यताको विषयमा हामीले मन्त्रीज्यूको ध्यानाकर्षण गरायौं,’ अध्यक्ष मगरले भनिन् ।
समस्या सुनाउँदा मन्त्री पौडेलले समाधान गर्ने आश्वासन दिएको अध्यक्ष मगरको भनाइ छ । शिक्षामन्त्रीको भनाइ उदृढ गर्दै अध्यक्ष मगरले भनिन्, ‘तपाईंहरूका सबै समस्याका विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । स्थानीय तहले नटेरेको अवस्था छ । तपाईंहरूको समस्या समाधान गर्ने कोसिस गरिरहेको छु ।’
दरबन्दीको विषयमा शिक्षामन्त्री पौडेलले अस्पष्ट कुरा गरेको अध्यक्ष मगरको भनाइ छ। ‘दरबन्दीको विषयमा मन्त्रीज्यूले खुलेर कुरा गर्नु भएन,’ उनले भनिन् ।
इसीडी शिक्षकहरूले शिक्षामन्त्री पौडेलकै कार्यकालमा आफ्ना समस्याहरू समाधान हुने विश्वास गरे । मन्त्री पौडेलकै अगाडि उनीहरूले भने, ‘बालविकास सहजकर्ताहरू सामुदायिक विद्यालयको जग हो । एउटा आधार हो । परिपक्व बनाएर लैजानुपर्छ । मन्त्रीज्यूकै पालामा हाम्रा समस्या समाधान भयो भने बालविकास शिक्षकहरूलाई राहत मिल्छ ।’
शिक्षामन्त्री पौडेलको यस्तो भनाइपछि इसीडी शिक्षकहरू पर्ख र हेरको अवस्थामा छन् । अध्यक्ष मगर भन्छिन्, ‘मन्त्रीज्यूले समस्या समाधान गर्छौं भन्नुभएको छ । हामी पनि आशावादी छौं । स्थानीय तहले धेरै दुःख दियो । हामीलाई संघीय सरकारबाटै तोकिएको पारिश्रमिक, सेवासुविधा दिनुपर्छ ।’
अध्यक्ष मगरले आफूहरूका माग पुरा नभएर आन्दोलनमा उत्रनुको विकल्प नहरेको बताइन् । उनले भनिन्, ‘हाम्रो माग पुरा नभए हामी आन्दोलनमा उत्रन्छौं,’ उनले भनिन् । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij