२०८२ भाद्र ८ गते आइतवार
मोरङको जहदा गाउँपालिकाले वृद्धि भएको तबल नदिएको भन्दै प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीले आन्दोलन घोषणा गरेका छन् ।
नेपाल शिक्षक संघ स्थानीय कार्य समिति जहदाले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाबाट वृद्धि भएको तबल नपाएको भन्दै आन्दोलन घोषणा गरेका हुन् ।
गाउँपालिकाले विद्यालयमा कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई चालु आर्थिक वर्षबाट बढाएको तबल उपलब्ध नगराएको उनीहरूले बताए ।
सरकारले आर्थिक वर्ष २०७८∕८९ को बजेटमा तलब वृद्धि गरे पनि गाउँपालिकाले अहिलेसम्म उपलब्ध नगराएको भन्दै नेपाल शिक्षक संघ जहदाले आपत्ति जनाएको छ । संघले १५ गते बिहीबारसम्ममा माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रन बाध्य हुने भन्दै गाउँपालिकालाई ज्ञापनपत्रसमेत बुझाइसकेको छ ।
यस विषयमा गाउँपालिकालाई बारम्बार ध्यानाकर्षण गराउँदासमेत सुनुवाइ नभएको नेपाल शिक्षक संघ जहदाका अध्यक्ष चैतुलाल मण्डलले बताए । गाउँपालिकाले यस विषयमा बेवास्ता गरेका कारण आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य भएको उनको भनाइ छ ।
आन्दोलनअन्तर्गत १६ गते शिक्षक महासंघको नेतृत्वमा घटक संस्थासहितको उपस्थितिमा गाउँपालिकामा धर्ना दिने, १८ गते गाउँपालिकाको सम्पूर्ण कामकाज ठप्प पार्ने मण्डलले बताए ।
यस्तै माग पूरा नभए १९, २० र २१ गते तीन दिन गाउँपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय बन्द गर्ने उनले बताए । माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले जानकारी दिए । (वेभटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij