Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन यसरी हुँदैछ तयारी, एसईई खारेज असम्भव

अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन यसरी हुँदैछ तयारी, एसईई खारेज असम्भव


  • 24.3K
    Shares

    अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउन यसरी हुँदैछ तयारी, एसईई खारेज असम्भव
    images

    संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन ।

    शिक्षा ऐनको दफा ५ को उपदफा ४ (ट) मा प्रस्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था भएकाले शिक्षा ऐन संशोधन नभएसम्म यो परीक्षा प्रदेश वा विद्यालयबाट लिन सम्भव नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

    प्रतिनिधिसभामा बहुमतले पारित गरी राष्ट्रिय सभाको बहुमत वा सरकारले अध्यादेशबाट मात्र ऐन संशोधन गर्न सकिन्छ । संसद्को समितिले गत वर्ष जेठ २९ गते एसईई परीक्षा खारेज गरी विद्यालयबाटै लिन मन्त्रीलाई निर्देशन दिएको थियो ।

    संसद्को समितिले अघिल्लो र यो वर्ष शिक्षा ऐनमा उल्लेख भएको विषय नबुझेर हो वा काम देखाउन हो, मिल्दै नमिल्ने विषय परीक्षा खारेज गर्न निर्देशन दिएको सरोकारवालाको टिप्पणी छ । अघिल्लो शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको कार्यकालमा पनि सोही विषय उठान भएको थियो । त्यसअघिका शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा पनि सो विषय उठाइएको थियो ।

    मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन पटकपटक प्रयास गरे पनि सम्भव भएको छैन । दर्जनौंपटक समितिमा छलफल भएर कानुन मन्त्रालयले प्रक्रियामा लगिसकेको भए तापनि हालसम्म संसद्मा उक्त ऐनको प्रस्ताव नलगिएको प्रवक्ता शर्माले बताए ।

    २०७६ सालमा जारी शिक्षा ऐनको आठौं संशोधनमा कक्षा १० को अन्तिम परीक्षा क्षेत्र र १२ को परीक्षा केन्द्र अर्थात् राष्ट्रिय परीक्षा बोर्डले लिने उल्लेख छ । त्यस बेला ऐन संशोधन गर्दा न मन्त्रीको ध्यान गयो, न त संसद्को नै ।

    मुलुक संघीयतामा गइसकेको र क्षेत्रको अवधारणा खारेज भई प्रदेशको संरचना भइसक्दा पनि शिक्षा ऐनमा कक्षा १० को अन्तिम परीक्षा (एसईई) क्षेत्रले लिने उल्लेख थियो । भर्खरै परीक्षा बोर्डका अध्यक्षमा नियुक्त भएका पूर्वसचिव महाश्रम शर्माले आफूले पद बहाली गरेलगत्तै यो विषयमा छलफल गर्ने बताए ।

    कोभिड–१९ संक्रमणका कारण लगातार दुई वर्ष एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट सञ्चालन भएको थियो । गएको बिहीबार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो ।

    ‘१२ सम्म विद्यालय तहको परीक्षा हो । १२ को बोर्डले परीक्षा लिनुपर्छ । एसईई खारेज गर्न भनेका हौं,’ समिति सभापति जयपुरी घर्तीले शिक्षामन्त्री देवेन्द्र पौडेलसहितको अधिकारीलाई निर्देशन दिने क्रममा भन्नुभएको थियो । शिक्षामन्त्री देवेन्द्र पौडेलले संघीय शिक्षा ऐनलाई संसद् वा अध्यादेशबाट ल्याउने विषयमा गृहकार्य शुरू गरिसक्नुभएको बताउनुभएको छ । यस विषयमा मन्त्री पौडेलले मन्त्रालयका सचिवलगायत उच्च अधिकारीसँग छलफल गरिरहेको जानकारी दिँदै मन्त्रालयका एक अधिकारीले नेपाल समाचारपत्रसँग भने– ‘अध्यादेशबाट ऐन ल्याउने प्रयास भइरहेको छ । त्यस विषयमा मन्त्रीले सबै सरोकारवालासँग दैनिकजसो कुराकानी गरिरहनुभएको छ ।’

    सरकारले २०७६ सालमा जारी गरेको उच्चस्तरीय शिक्षा नीतिमा माध्यमिक शिक्षाको समन्वय, अनुगमन तथा नियमन र माध्यमिक शिक्षाको कक्षा १० को परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणीकरणको जिम्मेवारी प्रदेश सरकारको रहने उल्लेख छ । तर, सो नीति बाहिर आउन सकेको छैन ।

    मन्त्री र सचिवका साथै विभिन्न सरोकारवाला निकायले १२ कक्षासम्म मावि शिक्षा भएकाले एसईईलाई प्रदेश वा स्थानीय तहमा सुम्पनुपर्ने बताउने गरेका छन् । तर, ऐनमा संशोधन गर्ने विषयमा कसैको ध्यान भने पुगेको छैन । यो वर्षको एसईई गत वर्षजस्तै वा अन्य कुन विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा भने छलफल भइरहेको प्रवक्ता शर्माको भनाइ छ ।

     
     

    प्रकाशित मिति :पौष १३ २०७८ मंगलवार - १६:१२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij