२०८२ भाद्र ७ गते शनिवार
शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ। शिक्षकलाई आवश्यक पर्ने विभिन्न तथ्य र दैनिक कार्यसँग सम्बन्धित प्रारुपहरू शिक्षक डायरीमा उल्लेख गरिएको छ। शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक योजना र सम्पादित कार्यको अभिलेख तयार पार्नमा सघाउ पुर्याउने उद्देश्यले शिक्षक डायरी विकसित गरिएको हो।
शिक्षण कार्यलाई सरल, सहज र रुचिकर बनाउने तथा शिक्षकको पेशागत विकासका लागि विद्यालयमा अनिवार्यरूपमा शिक्षक डायरी लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रप्रसाद भट्टले बताए।
“शिक्षकले वर्षभरि अध्यापन गर्ने विषयवस्तुको शैक्षणिक योजना बनाई प्रभावकारीरूपमा तोकिएको समय सीमाभित्र सम्पन्न गर्न शिक्षक डायरीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ”, उनले भने, “नियमितरूपमा शिक्षक डायरी प्रयोग गर्दा शिक्षकमा हरेक शैक्षिक सूचनाको खोज गर्ने बानीको विकास हुन्छ। बाल मनोविज्ञानको ख्याल गरी योजना तयार पार्न, शैक्षिक सामग्री तयार गर्न, विभिन्न शिक्षण विधिमध्ये उपयुक्त छनोट गरी प्रयोग गर्न, शिक्षणको कार्यलाई सरल तरिकाबाट सम्पन्न गर्न सकिन्छ।”
“शिक्षकले अध्यापनको कार्य गराउँदा विभिन्न शैक्षिक विधिहरूको प्रयोग गर्नुपर्ने हुन्छ”, उनले भने, “यसबाट शिक्षकको क्षमतामा वृद्धि हुन्छ नै। विद्यार्थीको पढाइप्रतिको मोहलाई बढाउन सकिन्छ। शिक्षकको मूल्याङ्कनसमेत हुने भएकाले अध्यापनकार्यलाई कसरी गुणस्तरयुक्त बनाउन सकिन्छ भनेर शिक्षकले अब मेहेनतसमेत गर्छन्।”
विद्यालयमा अध्यापनकार्य गर्दै आएका सबै शिक्षकलाई नगरपालिकाले उपलब्ध गराएको शिक्षक डायरी नियमित प्रयोगका लागि प्रदान गरिएको उनले बताए। डायरीमा पेशाप्रति समर्पित कर्तव्यनिष्ट शिक्षकले पालना गर्नुपर्ने महत्वपूर्ण जानकारी सङ्ग्रह गरिएको श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेयले बताए।
“कक्षा १ देखि १२ सम्मका पाठक्रमका विषयगत पाठ घण्टा, पूर्णाङ्क, वार्षिक पाठयोजना, दैनिक पाठयोजना शिक्षकका लागि नौला होइनन्”, उनले भने, “शिक्षकले पाठयोजनासहित प्रस्तुत नहुँदा पाठयक्रमको मर्मअनुसार पठनपाठन हुन सक्दैन। डायरीमा यिनै कुरालाई दर्शाइएको छ। जसले शिक्षकलाई कर्तव्यप्रति इमान्दारिता देखाउन मद्दत पुर्याउँछ।”
“डायरीमा उल्लेख गरिएका कुरा महत्वपूर्ण रहे पनि विद्यालयमा शिक्षक डायरी लागू गर्नुअघि शिक्षकलाई पुनःताजगी तालिम दिइएको भए यसको सार्थकता अझै बढथ्यो”, उनले भने। विद्यालयमा शिक्षक डायरी लागू गरी शैक्षिक गुणस्तर हासिल गर्नका लागि अगाडि बढेको उल्लेख गर्दै नगरप्रमुख दिलबहादुर ऐरले यसले शिक्षकको दक्षता वृद्धि गर्ने विश्वास व्यक्त गरे।
नगरपालिकाका सामुदायिक विद्यालयमा लागू गरिएको शिक्षक डायरीमा नगरपालिकाका सम्पूर्ण शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयवस्तुलाई समावेश गरिएको उनले जानकारी दिए। उनका अनुसार डायरीमा नगरपालिकाको प्रशासनिक तथा राजनीतिक विभाजन, नगरपालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयको तथ्याङ्कगत विवरण, वार्षिक शैक्षिक क्यालेण्डर, शिक्षासँग सम्बन्धित वेबसाइट, पाठयक्रमसम्बन्धी जानकारी, विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य, पाठयक्रमको संरचना, मूल्याङ्कन प्रक्रिया उल्लेख गरिएको छ। यसैगरी डायरीमा विद्यार्थीको वैयक्तिक विवरण राख्ने व्यवस्थासमेत गरिएको छ।
जसमा विद्यार्थीको नाम, जन्ममिति, आमाबुवाको नाम, अभिभावकको नाम, ठेगाना र सम्पर्क फोन नम्बर राख्ने व्यवस्था गरिएको छ। विद्यालयमा पढाइ भएको दिन, विद्यार्थीको उपस्थितिको विवरणसँगै अतिरिक्त क्रियाकलपमा सहभागी हुने विद्यार्थीको विवरण राख्नका लागि डायरीमा व्यवस्था गरिएको छ।
डायरीमा शिक्षकको समयतालिका, शैक्षिक योजना बनाउनका लागि समेत स्थान उपलब्ध गराइएको छ। विद्यालयमा हुने एकाइ परीक्षाको अभिलेख राख्ने, त्रैमासिक, अर्धवार्षिक र निरन्तर मूल्याङ्कनको अभिलेख र निरन्तर मूल्याङ्कन फारामसमेत डायरीमै राखिएको छ। रासस
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij