Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

शिक्षकको विज्ञापन धमाधम खुल्दै, क - कसले दिन पाउँछन् आवेदन?

शिक्षकको विज्ञापन धमाधम खुल्दै, क - कसले दिन पाउँछन् आवेदन?


  • 8.6K
    Shares

    शिक्षकको विज्ञापन धमाधम खुल्दै, क - कसले दिन पाउँछन् आवेदन?
    images

    काठमाडौं । शिक्षक सेवा आयोगले धमाधम विभिन्न तहको शिक्षक पदको विज्ञापन खुलाएको छ। गत मंसिर २९ गते माध्यमिक तहका लागि एक हजार ५४७ जनाको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो। त्यस्तै, पुस ७ गते निम्न माध्यमिक तहका लागि  दुई हजार ५९८ जनाका लागि विज्ञापन गरेको छ। 

    मावि तहका लागि पुस १ देखि २९ गतेसम्म नियमित शुल्क र माघ ६ गतेसम्म दोब्बर दस्तुरमा आवेदन फारम भर्न सकिने छ। आवेदन फारम अनलाइनबाट पनि भर्ने व्यवस्था आयोगले गरेको छ। परीक्षा आगामी चैत १५ गते सञ्चालन हुने आयोगले जनाएको छ।

    दरखास्तका लागि यस्तो छ प्रावधान 

    आयोगका प्रशासकीय प्रमुख केशवप्रसाद दाहालले मावि तहको विज्ञापनमा आवेदन दिन अनिवार्य मावि तहको स्थायी अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) चाहिने जानकारी दिए।

    त्यस्तै‚ शिक्षा विषयमा कम्तीमा १० महिना तालिम पूरा गरेको हुनुपर्नेछ। विषयगत स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिले मात्रै सम्बन्धित विषयमा मात्र उम्मेदवार हुन पाउने छन्।

    निमावि तहका लागि सातवटै प्रदेशमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन खुलाइएको छ। माघ ३ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ। दोब्बर दस्तुरमा १३ गतेसम्म मिति छ। फारम अनलाइन माध्यामबाट भर्न सकिने छ। परीक्षा भने आगामी चैत १७ गते लिखित परीक्षा हुने छ।

    परीक्षा केन्द्र प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्कीमा तोकिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलालीमा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा दुई पटक र एक पटक अन्तवार्ता हुने छ।

    आयोगका प्रशासकीय प्रमुख दाहालले निमाविको लागि पनि निमावि तहको स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएकाले मात्रै आवेदन दिन पाउने जानकारी दिए। उनका अनुसार सामाजिक अध्ययन विषयअन्तर्गत अर्थशास्त्र, इतिहास, ग्रामीण विकास, भूगोल, नागरिकशास्त्र, राजनीतिशास्त्र, दर्शनशास्त्र, नीतिशास्त्र, मनोविज्ञापन, मानवशास्त्र, समाजशास्त्र, जनसंख्या शिक्षा र स्वास्थ्य शारीरिक शिक्षा विषय अध्ययन गर्नेले भर्न पाउने छन्।

    मान्यता शिक्षण संस्थाबाट सम्बन्धित विषयमा माध्यमिक शिक्षा उत्तीर्ण (कक्षा १२) वा सो सरह र उक्त तहभन्दा माथि अध्ययन गरेकाले आवेदन दिन पाउने छन्।

    गणित‚ विज्ञान विषयको हकमा गणित र विज्ञान दुवै विषयमा २००/२०० पूर्णाङ्क लिई कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ। विषयगत स्थायी अध्ययपन अनुमतिपत्र प्राप्त गरेका व्यक्तिले सम्बन्धित विषय मात्र उम्मेदवार लिन पाउने दाहालले बताए।

    एक सातामा प्राविको विज्ञापन हुने

    आयोगका प्रशासकीय प्रमुख दाहालका अनुसार प्रावि, निमावि, मावि गरी देशभरका विद्यालयमा हाल १७ हजार शिक्षकको पद रिक्त छ। यसैका लागि अहिले विज्ञापन गराइएको छ। एक साता भित्र प्रावि तहको पनि शिक्षक पदपूर्तिका लागि विज्ञापन गर्ने उनले जानकारी दिए।

    दाहालले भने‚ ‘विज्ञापन खुलाउनेबारे अहिले तयारी भइरहेको छ।’ 

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस ५ गते आयोगको छलफलमा रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन पदाधिकारीलाई निर्देशन दिएका थिए। आयोगका अनुसार हाल देशभर ७ लाखले शिक्षक लाइसेन्स लिइएका छन्।

    प्रकाशित मिति :पौष ९ २०७८ शुक्रवार - १०:३७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij