२०८२ भाद्र १० गते मंगलवार
काठमाडौँ । जाडो मौसममा सबैलाई अवश्य चिसो महसुस हुन्छ होला ! जाडो महिनामा आफूलाई न्यानो बनाउन मानिसहरूले विभिन्न किसिमका उपायहरू अपनाइरहेका हुन्छन् । कोही न्यानो, बाक्लो लुगा लगाउँछन् भने कोही तात्तातो झोल खानेकुरा बढी खाने गर्छन् ।जाडोमा शरीरलाई न्यानो बनाउने र चिसो मौसममा शरीरलाई चाहिने पर्याप्त शक्ति पाइने खानेकुराहरू अरू पनि धेरै रहेका छन् ।
इण्ड्सहेल्थ प्लसका अनुसार जाडो महिना यी खानेकुरालाई नियमित रूपमा सेवन गर्ने हो भने यसले चिसो मौसमका कारण हुने रुघा–खोकी, विभिन्न किसिमका सरुवा रोगहरू लाग्न नदिनुका साथै सेवनकर्तालाई रोग प्रतिरोधी क्षमताको समेत वृद्धि गरेर शरीरलाई न्यानो समेत बनाउँछ ।
बदाम
चिसो मौसममा बदामको सेवन अनिवार्य रूपमा गर्नु फाइदाजनक मानिन्छ । बदाममा प्रोटिन र शरीरलाई फाइदा गर्ने चिल्लो पदार्थ, धेरै किसिमका भिटामिन र मिनरल्सहरु पाइन्छ । बदाममा म्याग्नेसियम, भिटामिन इ र फस्फोरस पनि पाइन्छ । बदामको सेवनले कोलेस्ट्रोललाई पनि नियन्त्रण गर्ने हुनाले मुटुका समस्या भएका व्यक्तिलाई चिसो मौसममा हुने मुटुका समस्याबाट पनि जोगाउन पनि मद्दत गर्छ ।
ड्राईफ्रुट्स
चिसो मौसममा ड्राईफ्रुट्सको सेवन पनि शरीर र स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिन्छ । विभिन्न किसिमका ड्राईफ्रुट्सको सेवनले शरीरलाई गर्मी र शक्ति पैदा गर्न महत्त्वपूर्ण मानिन्छ ।
छोकडा
छोकडाको प्रभाव गर्मी पैदा गर्ने हुन्छ । यदि चिसो मौसममा यसको सेवन गर्ने हो भने यसले शरीरमा भित्रैबाट गर्मी पैदा गर्छ । त्यसैले चिसो मौसममा यसको सेवन गर्नुलाई राम्रो मानिन्छ । छोकडामा भिटामिन ए र बि प्रशस्त मात्रामा पाइन्छ । यसमा फस्फोरस, पोटासियम, क्याल्सियम, म्याग्नेसियम र फाइबरको मात्रा पनि धेरै हुनाले यसको फाइदा धेरै रहेको छ ।
मह
जाडो महिनामा नियमित रूपमा महको सेवन गर्ने हो भने यसले रुघा र खोकी लाग्न दिँदैन । त्यसैले चिसो मौसममा बिहान एक चम्चा मह अनिवार्य रूपमा खानु राम्रो मानिन्छ ।
सख्खर
चिसो मौसममा सख्खरको सेवन गर्ने हो भने यसले शरीरमा गर्मी पैदा गर्छ । सख्खरको सेवनले शरीरको मेटाबोलिजमलाई राम्रो गर्छ । पाचन क्रियालाई राम्रो गर्न पनि सख्खरको सेवन गर्नु राम्रो मानिन्छ । सख्खरमा आइरनको मात्रा प्रचुर हुने हुनाले यसले एनिमियाको समस्या पनि हुन दिँदैन ।
तुलसी र अदुवा
चिसो मौसममा तुलसी र अदुवाको चिया बनाएर सेवन गर्दा शरीरलाई धेरै नै राम्रो गर्छ । यदि चियाको रूपमा खान मन लाग्दैन भने यसलाई चपाएर पनि खान सकिन्छ । यसको नियमित सेवनले चिसो मौसममा रुघा खोकी लाग्नबाट शरीरलाई बचाउने काम गर्छ ।
तिल
चिसो मौसममा तिलको सेवन गर्ने हो भने यसले हाम्रो शरीरमा गर्मी पैदा गर्छ । तिलमा मोनो-स्याचुरेटेड फ्याट्टि एसिड र एन्टि ब्याक्टेरियल मिनरल्स पाइने हुनाले चिसो मौसममा तिलको सेवन गर्दा धेरै किसिमको फाइदा हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij