२०८२ भाद्र ३ गते मंगलवार
रुकुम पश्चिमस्थित त्रिवेणी गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) लाई पारिश्रमिक उपलब्ध गराएको छ ।
अन्य पालिकाले पारिश्रमिक उपलब्ध गराउन आनाकानी गरिरहेका बेला त्रिवेणी गाउँपालिकाले भने मासिक रूपमा १५ हजार रूपैयाँ पारिश्रमिक उपलब्ध गराएको हो ।
पालिकाका विद्यालयमा कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीले सुरुमा पालिकाकाे ध्यानाकर्षण गराएका थिए । संघीय सरकारले उपलब्ध गराएको आठ हजार रूपैयाँमा सात हजार थप गरी न्युनतम मासिक पारिश्रमिक १५ हजार दिनुपर्छ ।
श्री जनचेतना आधारभूत विद्यालय खोरबारेमा कार्यरत इसीडी शिक्षक निर्मला ओलीले पालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक रूपमा पारिश्रमिक उपलब्ध गराएको वेबटिभी खबरलाई जानकारी दिइन् ।
‘संघीय सरकारले उपलब्ध गराएको पारिश्रमिकमा थप गरी न्युनतम मासिक पारिश्रमिक उपलब्ध गराउन हामीले सुरुमा पालिकाको ध्यानाकर्षण गरायौं । हाम्रो ध्यानाकर्षणपश्चात् पालिकाले मासिक १५ हजार पारिश्रमिक दिएको छ । विद्यालय कर्मचारीहरूले पनि पारिश्रमिक पाउनुभएको छ ।’
उनका अनुसार पालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई १५ हजार तलब दिएको छ । पालिकाले पारिश्रमिक उपलब्ध नगराएका कारण देशभरका इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij