Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

इनिसा विक हत्या प्रकरण: थप अनुसन्धानका लागि सीआईबीको टोली सुर्खेतमा

इनिसा विक हत्या प्रकरण: थप अनुसन्धानका लागि सीआईबीको टोली सुर्खेतमा


  • 407
    Shares

    इनिसा विक हत्या प्रकरण: थप अनुसन्धानका लागि सीआईबीको टोली सुर्खेतमा

    काठमाडौं । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिसा विकको अनुसन्धानमा सहयोग गर्नका लागि केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआईबी)बाट एक जना प्रहरी निरीक्षक कमान्डमा टोली सुर्खेत आउने भएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीराज शाहीले उक्त टोली बिहीबार नै सुर्खेत आउने बताए । उनका अनुसार, नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफ गर्ने अर्को एक टोली पनि सुर्खेत आउँदै छ । ‘उक्त पोलिग्राफले झूटो बोलेको पत्ता लगाउँछ,’ उनले भने, ‘त्यस्तै सोही अफिसबाट सीडीआर एनालिसिसहरू लगायतका विज्ञ टोली पनि आउँदै हुनुहुन्छ ।’

    उनका अनुसार, अनुसन्धानको करिब अन्तिम अवस्थामा प्रहरी पुगेको छ । यद्यपि कुनै पनि अनुसन्धानको पाटो नछुटोस् भनेर थप विज्ञहरूको टोलीको मदत मागिएको हो ।

    ‘अनुसन्धानको पाटोहरू नछुटोस् भनेर हो, यसलाई बलियो बनाएर लैजानको लागि र अनुसन्धान पाटोलाई अझ व्यापक बनाएर लैजानको लागि यो टिमहरूको पनि माग गरेका छौँ,’ शाहीले भने ।

    शाहीले प्रारम्भिक अनुसन्धान सकिएको बताए । ‘धेरै रिपोर्टहरू आइसकेका छन्, पोस्टमार्टम रिपोर्टहरू भइसकेको छ,’ उनले थपे, ‘फरेन्सिक ल्याबहरूमा जस्तै डीएफएल, डिजिटल फरेन्सिक ल्याबमा मोबाइलहरू पठाएका छौँ ।’

    त्यस्तै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोलोजीकल रिपोर्टको लागि र बायो–सेरोलोजिकल परीक्षणको लागि पठाइएको पनि उनले बताए ।

    ‘ती सबै रिपोर्टहरू आयो भनेपछि र ती रिपोर्टहरूको कम्पेरिजन गरे पश्चात् हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ,’ शाहीले भने, ‘अनुसन्धानका लागि जिल्ला मै छुट्टै टोली पनि गठन गरिएको छ ।’

    भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोलीले प्रदेश अस्पताल सुर्खेतमा पुगेर शवपरीक्षण गरी त्यसको प्रतिवेदन दिएको छ । सो प्रतिवेदनअनुसार जबरजस्ती करणी गर्दा मृतकको संवेदनशील अङ्ग च्यातिएको र अत्यधिक रक्तस्राव हुँदा मृत्यु भएको उल्लेख छ ।

    यद्यपि अनुसन्धान बाँकी नै रहेकाले यो कुरा प्रहरीले अहिले बाहिर भनेको अवस्था छैन । 

    गुर्भाकोट नगरपालिका–६ बडाखोली स्थायी घर भएकी १६ वर्षकी इनिसा हाल वीरेन्द्रनगर नगरपालिका–१ मा परिवारका साथ बस्दै आएकी थिइन् । शनिबार बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी बिहान ९ बजेतिर वीरेन्द्रनगर नगरपालिका—४ को उत्तरतर्फ पर्ने जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

    प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन प्रहरीले १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको थियो । जुन व्यक्तिले इनिसासँग आफ्नो प्रेम सम्बन्ध रहेको बताएका छन् ।

    पीडित पक्षले फागुन २४ गते उजुरी दिएका थिए । सोही उजुरीका आधारमा अन्य १५, १६ र १७ वर्षीय किशोरहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले बताए ।

    मृतक बालिका वीरेन्द्रनगरको उषा बालबाटिकामा कक्षा ११ मा अध्ययनरत थिइन् । प्रहरीलाई आफन्तहरूले भने अनुसार इनिसा २३ गते बिहान ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी थिइन् । तर उक्त दिन शनिबार हो । 

    अर्को उनी पढ्ने विद्यालय र इनिसा बेहोस अवस्थामा भेटिएको स्थान निकै टाढा छ । ‘घर परिवारले ट्युसन पढ्न गएको भनिए पनि पक्राउ परेका १६ वर्षीय किशोरले मर्निङवाक गर्न गएको भनेका छन्,’ एक अनुसन्धान अधिकृतले भने ।

    मर्निङवाक जाने बहानामा ती १६ वर्षीय युवकले शारीरिक सम्बन्ध राखेको र सोही क्रममा अत्यधिक रक्तश्राव भएको भनेका छन् । साथै, उनले इनिसा बेहोस भएपछि अस्पताल लैजान अन्य साथीहरूको सहयोग मागेको बयान दिएका छन् ।

    परिवारले भने सामूहिक बलात्कारपछि हत्या भएको भन्दै उजुरी दिएका छन् । अभियुक्तहरू सबै इनिसाकै कक्षाका साथीहरू भएको पनि खुलेको छ । यद्यपि अभियुक्तहरु सबै नाबालक भएकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

    घटनाबारे देशभर चासो, निष्पक्ष अनुसन्धानको माग 

    यो घटनाले यतिबेला पुरै देशको ध्यान खिचेको छ । राजनीति दल, अधिकारकर्मीदेखि कलाकर्मीहरू समेतले यो घटनाबारे निष्पक्ष छानबिनको माग गरेका छन् । सामाजिक सञ्जालमा उनीहरूले इनिसाको तस्बिर शेयर गर्दै न्याय दिलाउनुपर्ने आवाज उठाइरहेका छन् ।

    पीडित परिवार र आफन्तहरूले बुधबार वीरेन्द्रनगरमा निष्पक्ष छानबिनको मागसहित आन्दोलन नै गरेका छन् । साथै, इनिसाकी आमा तिला विकले प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायलाई भेटेर निर्दोष छोरीलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको भन्दै न्यायको माग गरिन् ।

    ‘हत्यारालाई कडाभन्दा कडा कारबाही होस्,’ उनले भनिन् । यस्तै कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिसाको घरमै पुगेर कानुन अनुसार न्याय सुनिश्चित गरिने विश्वास परिवारलाई दिलाएका छन् ।

    उनले घटनालाई स्वतन्त्र र निष्पक्ष रूपमा अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

    ‘सरकारको तर्फबाट यस घटनाको सत्य तथ्य बाहिर ल्याउने र कानुन अनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढ्ने छ,’ कँडेलले भने, ‘पीडित परिवारलाई न्याय दिलाउने कुरामा प्रदेश सरकार प्रतिबद्ध छ ।’

    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १३:३३:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij