२०८२ फाल्गुण २८ गते बिहिवार
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाको लागी भर्ना गरिएका निर्वाचन प्रहरीहरूले आफ्नो कार्यअवधि पूरा गरेका छन् । ४० दिनसम्म निर्वाचनको सुरक्षामा परिचालन गर्नेगरी नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्रले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । मतगणना पनि सार्वजनिक भैसकेको अवस्थामा निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिएको हो । उनीहरूलाई ‘धन्यवाद पत्र’ सहित बिदाइ गरिएको नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अवि नारायण काफ्लेले रातोपाटीलाई बताए ।
सशस्त्र प्रहरी बलले पनि फागुन २८ मा निर्वाचन प्रहरीलाई बिदाइ गर्ने भएको छ । सशस्त्रले निर्वाचन सुरक्षामा १५ हजार ११० जना निर्वाचन प्रहरीलाई परिचालन गरेको थियो । सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) विष्णु प्रसाद भट्टले निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीलाई आउने बिहीबार बिदाइ गरिने जानकारी दिए ।

निर्वाचन प्रहरीलाई ४० दिन निर्वाचन सुरक्षामा खटिएबापत सरकारले ३४ हजार ७७६ रुपैयाँ तलब प्रदान गरेको छ । त्यसबाहेक उनीहरूले रासन र आउजाउ गर्न ८४६ रुपैयाँ थप तयारी खर्च पाएका छन् । निर्वाचन प्रहरीले ४ दिनको लागी दैनिक ३ सयको दरले खाजा खर्च पाउनेछन् । पोसाक बापत छुट्टै रकम उपलब्ध गराइएको प्रहरी प्रवक्ता काफ्लेले बताए ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij