Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षा क्षेत्रको समस्या हल गरिन्छ : मन्त्री पौडेल

शिक्षा क्षेत्रको समस्या हल गरिन्छ : मन्त्री पौडेल


  • 4.6K
    Shares

    शिक्षा क्षेत्रको समस्या हल गरिन्छ : मन्त्री पौडेल

    बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा लामो समयदेखि गाँजिएर रहेका समस्या एकपछि अर्को गर्दै हल गरिने बताएका छन् ।

    नेकपा (माओवादी केन्द्र) निसीखोला गाउँपालिकाले चाडबाडका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अस्थायी र करार शिक्षकको व्यवस्थापन तथा दरबन्दी मिलानलगायत अल्झेर बसेका शिक्षा क्षेत्रका कामलाई अगाडि बढाइने बताएका हुन् ।

    ‘शिक्षा क्षेत्रमा चुनौतीको थुप्रो छ, ४०औँ वर्षदेखि समस्याहरु गाँजिएर रहेका छन्, तिनलाई क्रमशः हल गरिनेछ’, उनले भने, ‘अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि यस विषयमा छलफल भएको छ, अब लगत्तै काम सुरु हुन्छ ।’

    मन्त्री पौडेलले अस्थायी शिक्षकका जायज मागलाई नीति र विधिगत प्रबन्धमार्फत सम्बोधन गरिने भन्दै शिक्षक दरबन्दी मिलानको काम सुरु भइसकेको बताए । कार्यभार सम्हालेपछिको पहिलो फाइल दरबन्दी मिलानकै सदर गरेको उनले जानकारी दिए ।

    ‘एकातिर शिक्षकको दरबन्दी अभाव र अर्कोतिर अस्थायी शिक्षकको समस्या यो अवस्थाको अन्त्य गर्न मन्त्रालयले काम अगाडि बढाएको छ’, मन्त्री पौडेलले भने । विशिष्ट परिस्थितिमा आफू मन्त्रालयको नेतृत्वमा आइपुगेको भन्दै उनले आफ्नो कार्यकाल शिक्षा क्षेत्रको सुधारमा खर्चने धारणा राखे ।

    मन्त्री पौडेलले शैक्षिक पूर्वाधार विकास र विद्यालय भवन पुनर्निर्माणको कामलाई पनि निरन्तरता दिइने बताए। उनले अन्तर मन्त्रालय समन्वय गरेर जिल्लाको विकास, निर्माणमा पनि यथाशक्य भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

    प्रकाशित मिति :कार्तिक १४ २०७८ आइतवार - १४:४१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij