२०८२ मंसिर ९ गते मंगलवार
काठमाडौं । काठमाडौंमा आजदेखि कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइँदै छ । काठमाडौं जिल्लाका ८६ हजार व्यक्तिहरूलाई दोस्रो डोज खोप दिइन लागिएको हो ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ माथि उमेरका सबैलाई पहिले उपलब्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचयपत्रको आधारमा दोस्रो डोज दिन लागिएको हो । काठमाडौंका कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा आजदेखि खोप दिइँदै छ ।
काठमाडौं महानगरपालिकाभित्र भने नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, परोपकार प्रसूतिगृह अस्पताल र निजामती कर्मचारी अस्पताल तथा ३२ वटै वडाबाट बुधबारदेखि दोस्रो डोज खोप दिइनेछ ।
यसैगरी, वैदेशिक रोजगार तथा वैदेशिक भ्रमणमा जानेहरूका लागि सरकारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij