२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी मासिक तलबकै विषय निरन्तर आन्दोलनमा छन् ।
संघीय सरकारले निर्धारण गरे वमोजिमको न्युनतम पारिश्रमिक १५ हजार रूपैयाँ हो । तर देशैभरका शिक्षक र विद्यालय कर्मचारीले सो तलब पाएका छैनन् । कतिपय स्थानीय तहले तलब दिन आनाकानी गरिरहेका छन् । सोही कारण शिक्षक र विद्यालय कर्मचारीले पनि आन्दोलन गरिहरेका छन् ।
तलबका लागि आन्दोलन गरिरहँदा इसीडी शिक्षक र विद्यालय कर्मचारी बाहेकका शिक्षकले नै उनीहरूको शैक्षिक योग्यतामाथि प्रश्न उठाउने गरेका छन् ।
पढाउने विद्यालय एउटै भए पनि इसीडी शिक्षकलाई कमजोर तुलना गर्ने र शैक्षिक योग्यतामाथि प्रश्न उठाउने गरेपछि इसीडी शिक्षक खिन्न छन् । ‘माथिल्ला कक्षामा पढाउन भन्दा गाह्रो बालबच्चलाई हुन्छ । फकाउनुपर्छ । भुलाउनुपर्छ । उनीहरूलाई पढाइमा ध्यानआकर्षित गराउन हामीले विभिन्न उपाय निकाल्नुपर्छ,’ एक इसीडी शिक्षकले भनिन् ।
इसीडी शिक्षकको शैक्षिक योग्यता विद्यालयअनुसार फरक(फरक छ । प्राथामिक तहदेखि माध्यामिक (कक्षा १२) उत्तीर्ण गरेकोसम्म शैक्षिक योग्यता छ । कुनै विद्यालयमा ५ कक्षा उत्तीर्ण गरेकाले पढाइरहेका छन् भने कुनैमा १२ कक्षा उत्तीर्ण गरेकाले पनि पढाइरहेका छन् ।
शिक्षा मन्त्रालयले इसीडी शिक्षकलाई पनि स्थायी शिक्षक सरह तलब र सेवासुविधा उपलब्ध गराउन १२ कक्षा उत्तीर्ण अर्थात् माध्यामिक तहको शैक्षिक योग्यता अनिवार्य तोक्ने योजना अगाडि बढाएको छ ।
विद्यालय कर्मचारीको हकमा भने परिचरको न्युनतम शैक्षिक योग्यता प्राथामिक र लेखापालको माध्यामिक तह उत्तीर्ण रहेको छ ।
को हुन् ईसीडी शिक्षक ?
चार वर्ष उमेर पूरा नगरेका बालबालिकालाई विद्यालय पढाइ तथा सामाजिकीकरण अभ्यास गराउने अवधारणाअनुसार सरकारले बाल विकास केन्द्र (एजुकेशन डिभलपमेन्ट सेन्टर, ईसीडी)को व्यवस्था गरेको हो ।
देशभर ३० हजार चार सय ४८ सामुदायिक बाल विकास केन्द्र छन । सरकारको अनुदानमा यी सामुदायिक बाल विकास केन्द्र सञ्चालन गरिएको छ ।
शिक्षा विकास तथा मानव स्रोत केन्द्र (साबिक शिक्षा विभाग) को तथ्यांकअनुसार सामुदायिक र निजी बाल विकास केन्द्रमा ११ लाख १३ हजार पाँच सय ९६ बालबालिका पढ्छन् ।
आर्थिक वर्ष २०५६/५७ मा सामुदायिक बाल विकास केन्द्रको औपचारिक शुरुआत भएको हो । शुरुमा ईसीडी शिक्षकलाई ‘सहयोगी कार्यकर्ता’ भनिन्थ्यो । अहिले बाल विकास शिक्षक भन्ने गरिन्छ। प्रत्येक केन्द्रमा एक जना शिक्षक व्यवस्था गरिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij