२०८२ मंसिर १२ गते शुक्रवार
सरकारले असोज दोस्रो साताबाट लामोदूरीको यातायातमा अग्रिम टिकट बुकिङ खुलाउने तयारी गरेको छ। यातायात व्यवसायी र यातायात व्यवस्था विभागले असोज दोस्रो साताबाट अग्रिम टिकट बिक्री खुलाउने सहमति गरेका हुन्।
यो वर्षको दशैँ आउन अब करिब १ महिना बाँकी छ। असोज २१ गते घटस्थापना रहेको छ भने २९ गते विजयादशमी छ।
यातायात व्यवसायीले घटस्थापनादेखि नै सहर छाडी गाउँ जानेको संख्या बढ्ने बताएका छन्। व्यवसायीले सरकारसँग समन्वय गरी यात्रुको व्यवस्थापनको लागि अग्रिम टिकट बुकिङ गर्दै आएका छन्।
‘व्यवसायीसँग छलफल भइसकेको छ। व्यवसायीलाई अग्रिम बुकिङको लागि तयारी गर्न भनेका छौँ’, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले भने, ‘असोज ५/६ गते निर्णय गर्छौँ।’
महानिर्देशक घिमिरेले असोज दोस्रो हप्तादेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने व्यवसायीसँग सहमति भए पनि मिति तय नभइसकेको बताए।
‘व्यवसायीसँग अग्रिम टिकट खोल्ने विषयमा सहमति भए पनि मिति तय भएको छैन। ५र६ गते एउटा बैठक बसी मिति तय गर्छौँ’, घिमिरेले भने। यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दशैँमा यात्रुअनुसारको व्यवस्थापन हुने बताए।
‘कोभिड महामारीको कारण अझै यात्रु पाउन सकिएको छैन’, महासचिव सिटौलाले भने, ‘अहिलेको तुलनामा यात्रुको संख्या बढ्ने देखिए पनि बढी चाप नहुन सक्छ।’
उनले सामान्य अवस्थाको तुलनामा ३० देखि ४० प्रतिशत मात्रै यात्रुको संख्या रहेको बताए। सिटौलाले अहिलेको अवस्थामा दोब्बर यात्रु नै भए पनि व्यवस्थापन गर्न सकिने बताए।
‘अहिले त कसरी बाँच्ने भन्ने नै छ। दशैँमा यात्रुको संख्या बढ्छ’, उनले भने, ‘तर कोभिड महामारीको डर कायमै रहेकाले पहिलाका सामान्य वर्षमा जस्तो यात्रु बढी हुँदैनन् कि !’
सिटौलाले गत वर्षभन्दा केही यात्रुको संख्या बढ्नसक्ने भए पनि गाडी धेरै थप्नु नपर्ने बताए। यातायात व्यवसायीले प्रायः दशैँ तिहारमा ठूला बस भित्र्याउने गरेका थिए।
‘नयाँ बस अलिअलि थपिँदै छन्। धेरै आउँदैनन्’, उनले भने, ‘निर्बाध यातायात चल्ने सुनिश्चित भएपछि विस्तारै नयाँ बस थपिँदै जान्छन्।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij