२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।
उनले आफूहरु निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गरेका छन् । आफूहरु उमेरले ७० वर्ष कटेपनि जेन–जेड पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गरेका छन् । संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रुपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिवद्ध रहेको पनि बताएका छन् ।
उनले भने, ‘उमेरले ७० कटेपनि हामी जेनजीभन्दा कम सक्रिय छैनौं । हामी जेनजीभन्दा कम खटेका छैनौं । अब सुदूरपश्चिममा नेपाली कम्युनिष्ट पार्टीलाई एक नम्बर बनाउन कसैले रोक्नै सक्दैन । यो पार्टीलाई एक नम्बर बनाएर नयाँ इतिहास रच्ने अवसर गुम्न नदिनुहोला । सुदूरपश्चिमलाई समृद्ध सुदूरपश्चिम बनाउन हामी कुनै कसर बाँकी राख्ने छैनौं ।’
उनले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग पार्टी प्रतिवद्ध रहेको पनि बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij