Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सबै खबर एकै ठाउँमा

आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 442
    Shares

    आज दिनभरको २० खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्
    images

    १. सुनको मूल्य २ लाख ५० हजार नाघ्यो 

    शुक्रवार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार आज सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले बढेसँगै सुनको मूल्य २ लाख ५० हजार नाघेको हो । 

    २. सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार थियोः प्रशिक्षक शाही

    काठमाण्डु गोखार्जका प्रशिक्षक वसन्त शाहीले मिलिन्द कुमार र जोन सिम्पसनको साझेदारी नै चितवन राइनोजसँगको जितको माध्यम बनेको बताएका छन् । जितपछि पत्रकार सम्मेलनमा राम्रो शुरुवात नभएको अवस्थामा सिम्पसन र मिलिन्दको साझेदारी नै जितको आधार रहेको बताएका हुन् । उनले दिनको म्याचमा स्पिनरलाई खेल्न सहज नहुने र १४० भन्दा माथिको रन बनाउँदा चेज गर्न गाह्रो हुन्छ भन्ने सोचेको उल्लेख गरे । अन्तिम २/३ ओभरमा ४/५ विकेट जानु चिन्ताको विषय रहेको उनी बताउँछन् । 

    ३. जाँदाजाँदै टंकलाल घिसिङले भनेः २०९ राष्ट्रिय खेल संघलाई २ अंकमा झारेँ

    राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले २०९ ओटा राष्ट्रिय खेलकुद संघलाई आफूले २ अंकमा झार्ने प्रतिवद्धता पूरा गरेको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा बिदाई कार्यक्रममा बोल्दै उहाँले वर्तमानमा खेल संघहरुको संख्या घटेर ६३ पुगेको बताउनुभएको हो । उहाँले चार वर्षे कार्यकालमा सक्रिय संघहरुमा निर्वाचन सम्पन्न गराएको र ५० भन्दा बढी खेल सङ्गठनमा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै आफनो कार्यकाललाई सबैभन्दा बढी निर्वाचन भएको अवधि भनि बताउनु भयो । आफ्नो कार्यकालमा नै खेलकुदको इतिहासमा सबैभन्दा धेरै निर्वाचन गराएको दाबी गर्नुभयो । 

    ४. काठमाण्डु गोखार्जको तेस्रो जित

    उत्कृष्ट बलिङ गर्दै काठमाण्डु गोर्खाजले नेपाल प्रिमियर लिग ९एनपिएल० को दोस्रो सिजनमा दोस्रो तेस्रो जितसँगै प्लेअफ होडमा जारी राखेको छ । कीर्तिपुरमा भएको आफ्नो आफ्नो खेलमा उत्कृष्ट बलिङमा काठमान्डुले शुक्रवार चितवन राइनोजलाई रनले हराउँदै जारी एनपिएलमा तेस्रो जित निकाल्यो । सामान्य लक्ष्य दिएपनि उत्कृष्ट बलिङ गरेपछि काठमाण्डुले जित आत्सात ग¥यो । प्लेअफ होडमा दाबेदारी राख्न काठमाण्डुलाई जित आवश्यक थियो । खराब ब्याटिङ गरे पनि बलिङमा साथ पाउँदा काठमान्डुले पाचौं खेलमा तेस्रो जित निकाल्यो । चितवनको भने चौथो खेलमा दोस्रो हार हो । त्रिवि क्रिकेट स्टेडियममा काठमाण्डुले एक सय ४३ रनको लक्ष्य दिएको थियो । 

    ५. अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको होः अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गर्नुभयो । आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको बताउनु भयो । उहाँले अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको बताउनु भयो । 

    ६. अन्तरिक्ष यात्रीहरूसहित सोयुज एमएस–२८ अन्तरिक्षयान प्रक्षेपण

    बिहीवार काजाकिस्तानको बैकोनुर कोस्मोड्रोमबाट सोयुज–२।१ए क्यारियर रकेट प्रक्षेपण गरिएको छ । जसले सोयुज एमएस–२८ अन्तरिक्षयानलाई दुई रूसी अन्तरिक्ष यात्रीहरू र एक अमेरिकी अन्तरिक्ष यानलाई पृथ्वीको नजिकको कक्षामा पठाएको थियो । अन्तरिक्ष यान मस्को समय अनुसार दिउँसो १२ः२८ बजे उडान भरेको थियो । यसले लगभग ३ घण्टा १० मिनेटमा पृथ्वीको दुई परिक्रमा पूरा गर्ने र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा डक गरेको छ । चालक दलको आइएसएस मिसन २४२ दिनसम्म चल्ने तालिका छ ।

    ७. २०२६ को जि–२० शिखर सम्मेलनमा दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने ट्रम्पको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्ष फ्लोरिडाको मियामीमा हुने समूह २० (जि–२०) शिखर सम्मेलनमा भाग लिन दक्षिण अफ्रिकालाई निमन्त्रणा नगर्ने र देशलाई दिइने सबै अमेरिकी सहायता घोषणा गर्नुभएको छ । दक्षिण अफ्रिकाले अर्को वर्ष फ्लोरिडाको मियामीको ग्रेट सिटीमा आयोजना हुने २०२६ को जि २० को निमन्त्रणा प्राप्त नगर्ने उहाँको अडान छ ।

    ८. इजरायलद्वारा लेबनानमा आक्रमण

    इजरायली युद्धविमानहरूले बिहीवार दक्षिणी लेबनानमा श्रृंखलावद्ध हवाई आक्रमण गरेका छन् ।  अमेरिका–समर्थित युद्धविरामले द्वन्द्व अन्त्य गर्ने भनिएको ठीक एक वर्षपछि देशमा बारम्बार आक्रमणहरू जारी राखेका छन् । राज्य–सञ्चालित राष्ट्रिय समाचार एजेन्सीकाअनुसार जेजिन नजिकै अल–महमौदीह र अल–जर्माक क्षेत्रहरूमा आक्रमणहरू भएका थिए । लेबनानी गुप्तचर अधिकारीले इजरायली विमानले पूर्व हिजबुल्लाह स्थानहरूमा १८ हावाबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्रहरू प्रहार गरेको बताएका छन् । 

    ९. इजरायली सेनाद्वारा उत्तर पश्चिम किनारमा ठूलो मात्रामा कारबाही शुरु

    इजरायली र प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायलले उत्तरी पश्चिम किनारमा ठूलो मात्रामा सैन्य कारबाही शुरु गरेको छ । साथै कफ्र्यू लगाइएको र सडक अवरोधहरू खडा गर्नुका साथै सैन्य बल तैनाथ गरिएको बताइएको छ । इजरायली सेना र शिन बेट सुरक्षा एजेन्सीले उनीहरूले क्षेत्रमा व्यापक आतंकवाद विरोधी अभियानको भागको रूपमा सञ्चालन गर्न थालेको बताएक छन् । इजरायलले प्रायः पश्चिम किनारमा यस्ता छापा मार्नेहरूलाई प्यालेस्टिनी सशस्त्र समूहहरूसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गर्दै आतंकवाद विरोधी अभियानको रूपमा वर्णन गर्दछ ।

    १०. गिनी–बिसाउको संक्रमणकालीन राष्ट्रपतिको रूपमा होर्टा इन्टा–एद्वारा शपथ ग्रहण

    सशस्त्र सेनाले राज्य शक्ति पूर्णरूपमा नियन्त्रणमा लिएको घोषणा गरेको एक दिनपछि वरिष्ठ सैन्य अधिकारी होर्टा इन्टा–ए ले बिहीवार एक वर्षको कार्यकालको लागि गिनी–बिसाउको संक्रमणकालीन राष्ट्रपतिको रूपमा शपथ लिनुभएको छ । राष्ट्रिय रेडियोमा प्रत्यक्ष प्रशारित उद्घाटन समारोहमा बोल्दै इन्टा–ए ले सेनाले राज्यको विघटन रोक्न शक्ति ग्रहण गरेको बताउनु भयो । 

    ११. औषधि ऐनको अव्यवहारिक प्रावधान हटाउन माग गर्दै औषधि व्यवसायीहरुको विभागमा धर्ना

    औषधि व्यवसायीहरुले औषधि ऐन, २०३५ को दफा ११ मा राखिएको अव्यवहारिक प्रावधान खारेज गर्नुपर्नेमा माग राख्दै औषधि व्यवस्था विभागमा विभागमा धर्ना दिएका छन् । शुक्रवार नेपाल व्यवसायी महासंघको अगुवाईमा व्यवसायीहरुले म्याद सकिनुअघि नवीकरण नगरे शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्ध हुने जस्ता प्रावधानहरू खारेज गर्न माग गर्दै विभाग अगाडि धर्ना दिएका हुन् । 

    १२. जेन–जी २.० को मागः भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गरियोस्

    जेन–जी पुस्ताका युवाहरुको एक समूह जेन–जी २.० ले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप दिँदै भ्रष्टाचारका काण्डहरुको अनुसन्धान तथा आर्थिक, सामाजिक समस्याहरुको समाधानका लागि स्पष्ट राष्ट्रिय कार्ययोजना लागू गर्न माग गरेको छ । उक्त समूहले शुक्रवार सडकबाटै सरकारलाई ज्ञापनपत्र बुझाउँदै भ्रष्टाचारसम्बन्धी सबै फाइल यथाशिघ्र खोल्न माग गरेको हो ।

    १३. देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुन आवश्यकः संयोजक दाहाल

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले देशको स्वाधीनता, भू–अखण्डता र जनसत्ता जोगाउन वामपन्थी शक्तिहरू ध्रुविकृत हुनुपर्ने बताउनुभएको छ । शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा ९एमाले०का नेताहरुलाई मुलुक र नेपाली जनताको रक्षाका लागि समाजवादको यात्रामा गोलबद्ध हुन आह्वान समेत गर्नुभयो । 

    १४.नेपाली कम्युनिष्ट पार्टीलाई पहिलो शक्ति बन्नबाट कसैले रोक्न सक्दैनः संयोजक दाहाल

    नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीलाई पहिलो शक्तिबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ । शुक्रवार धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले सो दाबी गर्नुभएको हो । उहाँले आफूहरु निर्वाचनमा केन्द्रित भइसकेको उल्लेख गर्दै देशभर नेकपालाई पहिलो शक्तिको रुपमा स्थापित गर्न एकतावद्ध भएर लाग्न नेता कार्यकर्ताहरुलाई आह्वान समेत गर्नुभयो । आफूहरु उमेरले ७० वर्ष कटेपनि जेन–जेड पुस्ताभन्दा कम सक्रिय नरहेको टिप्पणी गर्नुभयो । संयोजक दाहालले सुदूरपश्चिमलाई समृद्ध प्रदेशका रूपमा रुपान्तरण गर्न पार्टी पूर्ण रूपमा प्रतिवद्ध रहेको पनि बताउनु भयो । 

    १५. आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख शक्ति बन्नेछः भीम रावल

    नेपाली कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी मुलुकको प्रमुख राजनीतिक शक्ति बन्ने बताउनुभएको छ । शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । नेता रावलले सुदूरपश्चिम प्रदेशको समस्या समाधन गर्न आफ्नो पार्टी प्रतिवद्ध रहेको जिकिर गर्दै यसलाई साथ दिन पनि सबैलार्य आग्रह गर्नुभयो । नेता रावलले सुदूरपश्चिम प्रदेशका कठिनाईलाई सम्बोधन गर्न पनि आफ्नो पार्टी तयार रहेको बताउनु भयो । 

    १६. उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते

    नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो । काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा। राजु थापाले बताउनु भयो । घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहनुहुनेछ । घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिने पनि प्रवक्ता थापाले बताउनु भयो । 

    १७. उज्यालो नेपाल पार्टीद्वारा निर्वाचनमा उम्मेदवारी बन्नका लागि आवेदन दिन आह्वान

    कुलमान घिसिङ संरक्षक रहनुभएको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको उम्मेदवारका लागि खुला आवेदन आह्वान गरेको छ । सो पार्टीले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी दिन चाहनेहरुले आगामी मंसिर २९ गते भित्र आवेदन दिन आग्रह गरेको हो ।

    १८. नेकपामा नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने काम नगरौंः माधव नेपाल

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका नेताहरुले आफ्नो मात्रै प्रचार गर्ने शैली अपनाउन नहुने बताउनुभएको छ । शुक्रवार सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित पार्टीको एकता सन्देश सभामा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । निर्वाचन आएकाले सिंगो पार्टीका नेताहरुले खेलेका भुमिकाहरुको एकीकृत रुपमा प्रचार गर्नुपर्ने सहसंयोजक नेपालको भनाई थियो । 

    १९. १ हजार दरका ४३ करोड थान नयाँ नोट छाप्न ठेक्का

    केन्द्रिय बैंकले १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का पनि चिनियाँ कम्पनीलाई दिएको छ । राष्ट्र बैंककाअनुसार चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई उक्त नयाँ नोट छाप्ने ठेक्का दिइएको हो । यो कम्पनीले १ हजार दरका ४३ करोड थान नयाँ बैंक नोट डिजाइन, छपाइ तथा आपूर्ति गर्नेछ । नेपाल राष्ट्र बैंकले नोट छाप्ने ठेक्का लगाउन गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमार्फत प्राप्त भएकोमध्ये सबैभन्दा थोरै मूल्य प्रश्ताव गरेकाले कर्पोरेशनलाइ बैंकले छनौट गरेको हो । 

    २०. स्मार्ट टेलिकमका पिडितलाई भेट्दै सञ्चारमन्त्रीले भने–अन्यायमा पर्न दिन्न

    स्मार्ट टेलिकम पिडितहरुले सञ्चारमन्त्री जगदीश खरेललाई भेटेका छन् । आज सिंहदरबारस्थीत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गएर उनीहरुले सञ्चारमन्त्री खरेललाई भेटेर आफूहरु लामोसमयदेखि पीडित बनेको भन्दै समस्या समाधानका लागि आग्रह गरेका हुन् । भेटमा स्मार्ट टेलिकमले सेवा सञ्चालनका लागि टावर राख्न घर भाडामा माग्न आएको र आफूहरुले पनि दिएको तर वर्षौं भाडा नतिर्दा टेलिकमबाट आफूहरु पीडित बनेको उनीहरुले बताए । –न्युज एजेन्सी नेपाल 

    प्रकाशित मिति :मंसिर १२ २०८२ शुक्रवार - २०:०४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij