२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कोरोना महामारी सुरु भएयता गत वैशाख १६ बाट रोकिएको सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन दशैंपछि खुल्ने भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भूसालले नयाँ आवेदनका लागि दशैं पछि खुल्न सक्ने सम्भावना रहेको जानकारी दिएका हुन् ।
गत वैशाख १६ देखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी प्रमाणपत्रको अनलाइन दर्ता प्रणाली बन्द छ ।महामारीअघिसम्म फाराम दर्ता गर्ने र फाराम भर्नेको संख्या ६ लाख पुगेको थियो ।
विभागले गत भदौ ३० बाट देशभभरका २१ वटा यातायात कार्यालयमामार्फत महामारी अघि फाराम भर्नेको परीक्षा सञ्चालन गर्न सुरु गरिसकेको छ । भूसालका अनुसार अहिले दैनिक २ हजार ५ सय हाराहारीले प्रयोगात्मक र लिखित परीक्षा दिइरहेका छन् ।
यो संख्या दिनदिनै घट्दो क्रममा छ । संख्या घट्दो क्रममा रहेकाले दशैं सकिएलगत्तै पुनः अनलाइन प्रणाली सुचारु हुन सक्ने उनी बताउँछन् ।
‘अहिले खुलायो भने एक वर्षसम्म कुर्नमात्रै पर्ने हुन्छ,’ उनले भने, ‘६ लाख सेवाग्राहीको काम नटुंगाईं नयाँका लागि झन्झटिलोमात्रै हुन्छ ।’
७० अंक ल्याए पुग्ने
विभागले अहिले लाइसेन्सको परीक्षालाई पहिलाभन्दा केही खुकुलो बनाएको छ । भूसालका अनुसार यसअघिको मापदण्ड अनुसार सवारी परीक्षामा उत्तीर्ण हुने सम्भावना ३० देखि ३५ प्रतिशत रहेको थियो भने नयाँ मापदण्डमा यसको सम्भावना ५० देखि ६० प्रतिशत रहेको छ ।
गत जेठ १ गतेदेखि लागू भएको नयाँ व्यवस्था अनुसार प्रयोगात्मक परीक्षामा खुकुलो छ । जसअनुसार अब ट्रायलमा ७० प्रतिशत अंक ल्याएमा लाइसेन्स प्राप्त गर्न सकिन्छ ।
यसअघि ट्रायलमा शतप्रतिशत उत्तीर्ण भएमात्रै लाइसेन्स पाइन्थ्यो । तर अब एकसय पूर्णांकमा ७० अंक ल्याएकालाई पनि लाइसेन्स वितरण गरिन्छ ।
विभागले गत पुस अन्तिम साता सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि २०७७ बनाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।
उक्त कार्यविधिलाई मन्त्रालयले स्वीकृत गरेको हो । विभागले विभिन्न ८ चरणमा लाइसेन्सका लागि परीक्षा लिने गरेको छ । यसअघि उक्त चरणमा कुनै पनि एक गल्ती भएमा उक्त व्यक्ति लाइसेन्सका लागि अयोग्य भएको मानिन्थ्यो ।
तर, नयाँ कार्यविधिअनुसार विभागले मूल्यांकनका लागि अंक विभाजन गरेको छ । विभागका अनुसार घुमाउरो आठ बनाउने चरणमा २० पूर्णांक रहेकोमा एकपटकसम्म अंकित रेखामा छोएमा र भुइँमा खुट्टा टेकेमा क्रमशः ५्५ अंक मात्र घटाइनेछ ।
युटर्न इन्डिकेटर लाइट र ट्राफिक संकेतको पालना नगरेमा यसबाट पाइने जम्मै पूर्णांक अर्थात् क्रमशः १० र १५ अंक काटिनेछ । उबडखाबड चरणमा एकपटकसम्म भुइँमा टेकेमा र सवारी स्टार्ट बन्द भएमा ५्५ अंक काटिनेछ ।
अस्वाभाविक रूपमा सवारी चलाएमा र ब्रेक, टायर तथा ऐनाको निरीक्षण नगरेमा ३्३ अंक अनि हेल्मेटको लक नलगाएमा ४ अंक काट्नेगरी अंक विभाजन गरिएको छ ।
विभागले उकालोमा २० र साँघुरो फलेक चरणमा १० अंक राखेको छ । यसमा गल्ती भएमा जम्मै अंक काटिनेछ ।
यीमध्येबाट चालकले कुल ७० अंक मात्र प्राप्त गरे पनि सवारी चालक अनुमतिपत्रका लागि योग्य ठहरिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij