२०८२ मंसिर १२ गते शुक्रवार
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धक कसूरमा जाहेरी दिएकी छन् ।
प्रदेश सभा सदस्य वलीले पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावलले आफूलाई अपहरण गरेर बन्धक बनाएको भन्दै प्रहरीमा निवेदन दिएकी हुन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरले बुटवलमा सोमबार दिएको उजुरी बुधवार दाङ पठाइएको लोकान्तरलाई जानकारी दिए । निवेदन लिएर माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती र सांसद विमला वली प्रहरी कार्यालय पुगेका थिए ।
यसअघि राजनीतिक विषय भएकाले उजुरी नदिने बताउँदै आएकी वलीले घटनाको डेढ महिनापछि उजुरी दिएकी हुन् ।
कुँवरले भने, ‘सोमबार उहाँहरूले निवेदन लिएर आउनुभएको थियो । घटना दाङमै भएकाले उतै पठाएको छौं ।’ दाङका प्रहरी प्रमुख सुरेन्द्र काफ्लेले अझैसम्म उजुरी जिल्ला आइनपुगेको बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार वलीले आफूलाई साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल दाङबाट ल्याएर बन्धक बनाएको आरोप लगाएकी छन् ।
बुटवल प्रहरीले भने, घटनास्थल दाङ भएकोले त्यहीँबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ । सूर्य चिह्नबाट निर्वाचित वलीले नेकपा एकता भंग भएपछि माओवादी केन्द्र रोजेकी थिइन् । वलीसँग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन ।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीले अपहरण तथा शरीर बन्धकविरुद्ध सोमवार इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी बुझाएको बताए ।
मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन पाउने कानुनी व्यवस्था छ । वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
विमला पछिल्लो केही महिनायता कहिले एमाले त कहिले माओवादी भनेर चर्चामा रहँदै आएकी छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij