२०८२ मंसिर १३ गते शनिवार
काठमाडौं । चर्चित लोकगायिका विष्णु माझीको निजी जीवनबारे राष्ट्रिय मानवअधिकार आयोगले चासो दिएको छ । उनको पछिल्लो गीत ‘चरी जेलैमा’ सुपरहिट भएसँगै उनको अवस्थाबारे सामाजिक सञ्जालमा विभिन्न चर्चा-परिचर्चा हुँदै आएका छन् ।
आयोगका अधिकारीहरुले आइतबार माझीको माइती जिल्ला स्याङ्जास्थित जिल्ला प्रशासन र प्रहरी कार्यालयहरुलाई टेलिफोन गरी उनको अवस्था बुझ्न मौखिक निर्देशन दिएका थिए ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले नेपाल प्रेससँग कुरा गर्दै सञ्चारमाध्यममा माझीको विषयमा आएका विवरणहरुबारे यथार्थ पत्ता लगाउन प्रशासनलाई भनिएको बताए ।
आयोगको मौखिक निर्देशनपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एवं एसपी होविन्द्र बोगटीले आइतबार गायिका माझीको माइतीघरमा स्थाानीय प्रहरी टोली पठाएका थिए । तर, घरमा कोही पनि नभेटिएको स्थानीय प्रहरीले रिपोर्टिङ गरेका छन् ।
एसपी बोगटीले भने, ‘हामीले अनौपचारिकरुपमा माइतीमा बुझ्न खोजेका थियौ । तर, घरमा कोही पनि रहेनछ । बुवाआमा बितिसक्नुभएको रहेछ । अरु कुराहरु थाहा हुन सकेन । उहाँका बुबाआमा बितिसक्नुभएको रैछ । त्यसैले धेरै कुरा थाहा हुन सकेन’ एसपी बोगटीले भने ।
आइतबार नै आयोगले पोखरास्थित क्षेत्रीय कार्यालयलाई पनि बुझ्न निर्देशन दिएको थियो । क्षेत्रीय कार्यालयले पनि स्याङ्जा प्रहरीलाई यसबारे बुझ्न भनेको थियो । आयोगका प्रवक्ता पोखरेलले स्वयम् पीडितले उजुरी नगरेसम्म अनुसन्धान र कार्वाहीको प्रक्रिया भने अघि बढाउन नमिल्ने बताए ।
‘स्वयम् व्यक्तिले म पीडित छु भनेर उजुरी दिएमा हामी अनुसन्धान अघि बढाउन सक्छौं’ प्रवक्ता पोखरेलले भने । यसअघि २०७५ सालमा पनि विष्णु माझीको अवस्थाबारे जिल्ला प्रशासनले चासो दिएको थियो । त्यसबेला स्याङ्जाकै प्रमुख जिल्ला अधिकारीले विष्णु र उनका श्रीमानलार्य कार्यालयमा नै डाकेर सोधपुछ गरेका थिए ।
प्रशासनले बोलाएपछि उनीहरु २०७५ साल पुस २ गते त्यहाँ हाजिर भएका थिए । सोधपुछका क्रममा विष्णुले आफूमाथि श्रीमानबाट कुनै किसिमको गलत व्यवहार नभएको बताएकी थिइन् ।
थुप्रै लोकप्रिय गीतहरुमा स्वर दिएकी गायिका माझी सार्वजनिक जीवनमा कहिल्यै नदेखिएकाले उनलाई श्रीमानले बन्धक बनाएर राखेको चर्चा पहिल्यैदेखि चल्दै आएको छ । यद्यपि, उनीहरुलाई नजिकबाट चिन्ने कलाकारहरु भने श्रीमान सुन्दरमणि अधिकारीसँग विष्णु माझीको राम्रो समझदारी रहेको बताउने गर्छन् ।
अहिले विष्णु माझीले गाएको चरी जेलैमा गीत निकै चर्चामा छ, जसलाई उनकै श्रीमान सुन्दरमणिले लेखेका र संगीत दिएका हुन् ।
विष्णुकाश्रीमानको घर कास्कीमा प्रहरीले सम्पर्क गर्यो त?
जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापालाई हामीले सोध्यौं।उनले प्रहरीमा खोजी वा सम्पर्क गर्न कुनै निर्देशन नआएको बताए।
यतालोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बीसीलेकाठमाडौंमा उनी श्रीमानसँग बस्दै आएको जानकारी दिए। तर,उनले यकिन यही ठाउँमा बस्छन् भन्ने चाहिँ बताउन सकेनन्।
'उहाँ काठमाडौंमा नै बस्नुहुन्छ। तर, कहाँ बस्नुहुन्छ थाहा हुँदैन,' उनले भने,'हामीले जानकारी पाएअनुसार कोठा फेर्दै बस्ने गर्नुभएको छ भन्ने छ। त्यस्तो सम्पर्क नै नहुने भेट्दै नभेटिने भन्नेचाहिँ होइन।'
'जेलैमा हो जेलैमा, चरी जेलैमा…' यही गीतसँग उनको जीवनको तुलना गर्दै लेख्नेहरु पनि धेरै छन्। यसअघि गीत रिलिज हुँदा पनि उनीबारे यस्तै कहानीहरु सार्वजनिक हुँदै आएको हो। त्यसैले उनको जीवनलाई लिएर हुने टीकाटिप्पणी पनि नियमित आकस्मिकता बनिरहेका छन्। त्यसैको आधारमा यसपाला मानवअधिकार आयोग र प्रहरीले पनि चासो दिए। तर, जसरी चासो दिए त्यसरी सुल्ट्याउन सकेनन्, विष्णु माझीको जीवनको पहेंली।
'पहिले पनि यस्तो कुरा आएकाले हामीले बुझेका थियौँ। उहाँ आफैँले यस्तो जीवन रोज्नु भएको हो,'अध्यक्ष बिसीले भने, 'बाहिर हल्ला भएजस्तो उहाँको जीवन छैन। उहाँ हाँसी खुशी हुनुहुन्छ।'
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij