२०८२ मंसिर १३ गते शनिवार
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र टाइप र प्रिन्ट गर्ने कर्मचारीलाई ७७ लाख भत्ता दिएको फेला परेको छ । कार्यालयले हाजिरी बापत कर्मचारीलाई तलब र दैनिक गर्नुपर्ने कामको अतिरिक्त भत्ताबापत सो रकम उपलब्ध गराएको हो ।
सरकारले २०७६ साउनदेखि लागू हुनेगरि कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापक लगायतले प्राप्त गर्दै आएको महँगी भत्ता, पोशाक र बीमा बाहेकका सबै सुविधा खारेज गरेको थियो ।
तर विश्वविद्यालयको कार्यकारी परिषद्ले २०७० सालको कार्तिक ८ गते प्रश्नपत्र टाइप र सुपरभाइजिङ्ग गरेबापत प्रति पेज रु २४ र प्रिन्ट गरेबापत प्रति पेज ५० पैसाका दरले उक्त भत्ता दिने निर्णय गरेको हो । जस अनुसार आर्थिक वर्ष २०७५र०७६ मा रु ५४ लाख र २०७६र७७ मा रु २३ लाख ५५ हजार प्रोत्साहन भत्ता वितरण गरेको हो ।
उक्त रकममध्ये अति गोप्य शाखामा ३७ प्रतिशत, गोप्य शाखामा ४३, लेखा शाखामा १२, कर्मचारी कल्याण कोषमा ५ र परीक्षा नियन्त्रक कोषमा ३ प्रतिशत वितरण गरिएको छ । कार्यालय समय अघि र पछि अतिरिक्त समयमा काम गरेको भन्दै ३० देखि ५५ प्रतिशत प्रोत्साहन रकम बुझ्दै आएका छन् ।
कार्यालयकै स्रोत साधनको प्रयोग गरेर काम गर्नेहरूले कार्यालय समयमा नै गरेको काम बिहान बेलुका गरेको भन्ने देखाएर अतिरिक्त भत्ता बुझेको स्रोत बताउँछ ।
समयमा परीक्षा लिने र परीक्षाफल प्रकाशित गर्न नसक्ने कार्यालयले यसरी कार्यालयकै कम्प्युटर प्रयोग गरेर टाइप र कार्यलयकै प्रिन्टरबाट प्रिन्ट गरेको पनि भत्ता लिनु गैरकानूनी र राज्य ठग्ने नियत भएको जानकारहरू बताउँछन्
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij