२०८२ मंसिर १३ गते शनिवार
युवाहरुलाई लोकसेवा आयोगको परीक्षा पास गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरी ठगी गर्ने महोत्तरी पशुपतिनगर ४ घर भई हाल सुनसरीको धरानमा बस्ने ५२ वर्षीय कुमार थापा मगर भन्ने अमर बहादुर लामिछानेलाई पक्राउ गरेको हो।
आफू लोकसेवा आयोगको कर्मचारी रहेको र सरकारी जागिर लगाइदिने भनी प्रलोभन देखाई सर्वसाधारण मानिसहरुलाई रकम लिई ठगेको लोकसेवा आयोगको परीक्षा प्रवेश पत्र समेत वितरण गर्ने र सोबापत मोटो रकम लिने गरेको पाइएको छ।
रकम लिएपछि लेनदेन प्रकृतिको कागज बनाई झुक्याई ठगी गरेको जाहेरीको आधारमा उनलाई डेराबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनुसरीले जनाएको छ।
उनको कोठाबाट सर्वोच्च अदालत काठमाडौं लेखिएको डिजिटल छाप, लोकसेवा कार्यालय कमलपोखरी काठमाडौं लेखेको रवरको छाप, गोप्य लेखेको रवरको छाप, जिबछ लामिछाने समेत लेखेको रवरको छाप, नेपाल सरकार गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय काठमाडौं लेखेको रवरको छाप, प्रहरी निरीक्षक लेखेको रवरको छाप, उपसचिव लेखेको रवरको छाप, राष्ट्रिय बाणिज्य बैंक उल्टो उल्लेख भएको रवरको छाप, लोक सेवा आयोगको कार्यालय धनकुटा लेखेको डिजिटल स्टाम छाप, शाखा अधिकृत लेखेको छाप लगायत बिभिन्न कागजातहरु बरामद गरेको छ।
पक्राउ परेका अमर बहादुरलाई सरकारी छाप दस्तखत किर्ते तथा ठगी कसुरमा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्यादथप गरी थप अनुसन्धान सुरु गरिएको सुनसरीका डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij