२०८२ भाद्र २ गते सोमवार
सामान्य अर्थमा बढुवा भनेको कुनै पनि व्यक्तिको कामको क्षेत्रमा प्रगति एवं उन्नति हुनु हो । अझ सामान्य अर्थमा भन्दा माथिल्लो तह वा श्रेणीमा साविकमा खाइपाइ रहेको तलब भन्दा बढी तलब अथवा पारिश्रमिक खाने र पाइरहेको सुबिधा भन्दा बढी सुबिधा पाउने गरी भएको प्रगति अथवा उन्नति अथवा पदोन्नति नै बढुवा हो ।
शिक्षण सेवामा प्रवेश गरेपछि विद्यालय शिक्षण सेवाको सबैभन्दा माथिल्लो तह वा श्रेणीमा पुगेमा सफलताको तह पूरा भएको मानिन्छ । यसरी भएको बढुवाबाट बढुवा हुने व्यक्तिको समाजमा मान, प्रतिष्ठा बढ्छ । सामाजको उक्त व्यक्तिप्रति हेर्ने दृष्टिकोण पनि फरक र सकारात्मक हुन्छ । शिक्षण पेशामा कार्यरत व्यक्तिलाई शिक्षण पेशामा मन लगाई राख्न र आफ्नो पेशामा समर्पित भएर सेवा गर्न बढुवा अथवा पदन्नोतिले महत्वपुर्ण भुमिका खेल्दछ ।
शिक्षक पद संख्या र कायम हुने श्रेणी
नेपाल सरकारले देशभरिका ७७ जिल्लाका लागि शिक्षक दरबन्दी स्वीकृत गर्दछ । जिल्लाभरि भएका सामुदायिक विद्यालयका लागि स्वीकृत दरबन्दीलाई अहिले पालिकागत रूपमा निर्धारण गरिएको छ । शिक्षक दरबन्दी पालिकागत रूपमा कायम भएतापनि शिक्षकको बढुवा प्रक्रिया हालसम्म जिल्लागत रूपमा रहेको एकमुष्ट दरबन्दी र उक्त दरवन्दीमा रिक्त रहेको पद संख्याका अधारमा पदपूर्ति र बढुवा हुने गरेको छ ।
शिक्षा ऐन (संशोधन सहित)ले विद्यालय तहलाई आधारभूत र माध्यमिक तह गरी दुई तहमा वर्गीकरण गरेका छ। तर शिक्षक दरबन्दीलाई भने बालविकास केन्द्रका सहजकर्ता, प्राथमिक शिक्षक, निम्न माध्यमिक शिक्षक, माध्यमिक शिक्षक र साविक उच्च माध्यमिक शिक्षक गरी पाँच तहमा विभाजन गरेको छ। पाँच तह मध्ये पनि बालविकास केन्द्रका सहजकर्ता र साबिक उच्च माध्यमिक तहका शिक्षकहरूको सम्बन्धमा हालसम्म स्थायी नियुक्ति प्रक्रिया कै टुंगो लाग्न सकेको छैन ।
स्थायी नियुक्तिको नै प्रक्रिया अन्यौल रहेका यी दुई पदको बढुवाको कुनै गुञ्जायस नै रहेन। प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षकहरु मध्ये हरेक तहका तृतीय श्रेणीका रिक्त पद खुल्ला प्रतियोगिताद्वारा पूर्ति गरिन्छ । हरेक तहका द्धितीय र प्रथम श्रेणीका पद बढुवाद्वारा पूर्ति गरिन्छ। हरेक जिल्लाका लागि स्वीकृत शिक्षक दरबन्दी मध्ये हरेक तहमा जिल्लाको कुल शिक्षक संख्याको ८०% तृतीय श्रेणी, १८% द्वितीय श्रेणी र २% प्रथम श्रेणीको पद रहन्छ। यस हिसाबले हरेक जिल्लामा ८०% शिक्षक खुला प्रतियोगिताद्वारा स्थायी नियुक्ति भएका हुन्छन् भने बाँकी २०% शिक्षक बढुवाद्वारा नियुक्ति भएका हुन्छन।
बढुवा प्रक्रिया:-
शिक्षा नियमावली २०५९ (संशोधन सहित) र शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) मा शिक्षकको बढुवा सम्बन्धी प्रक्रियाको व्यबस्था गरिएको छ । शिक्षक सेवा आयोग नियावली २०५७ (संशोधन सहित) अनुसार शिक्षकको बढुवा दुई प्रकारले हुन्छ ।
(क) आन्तरिक प्रतियोगितात्मक परीक्षाका आधारमा,
(ख) कार्यसम्पादन मूल्यांकनका आधारमा
हरेक जिल्लामा रिक्त रहेका प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहका शिक्षक दरवन्दी मध्ये हरेक तहका प्रथम र द्वितीय श्रेणीका रिक्त दरबन्दीको २५ प्रतिशत पदमा शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक परीक्षाका आधारमा बढुवा गर्न विज्ञापन गर्दछ। यसरी विज्ञापन गरेका पदमा ५ बर्ष स्थायी सेवा अबधि पुगेका शिक्षक उमेद्बार हुन र दरखास्त दिन पाउँछन् । योग्यता पुगेका शिक्षकहरु मध्ये दरखास्त दिएका शिक्षकहरुको तोकिएको पाठ्यक्रम अनुसार शिक्षक सेवा आयोगले लिखित परीक्षा सन्चालन गर्दछ । लिखित परीक्षामा उतिर्ण भएका उम्मेदवारहरुले लिखित परीक्षा र अन्तरवार्तामा प्राप्त गरेको अंक जोडी सबैभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने बिज्ञापनमा तोकिएको संख्याका शिक्षकलाई बढुवा नियुक्तिको लागि शिक्षक सेवा आयोगले सिफारिस गर्दछ ।
जिल्लामा हरेक तहको प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक दरवन्दीको ७५% कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा गरिन्छ । कार्यसम्पादन मुल्यांकनद्वारा शिक्षकको बढुवा गर्दा विज्ञापन भएपछि विज्ञापनमा तोकिएको अबधि भित्र ५ शैक्षिकसत्र स्थायी सेवा अबधि पूरा भएका शिक्षक सम्भाव्य उम्मेदवार हुन्छन । संभाव्य उम्मेदवार मध्ये इच्छुक उम्मेदवारले दरखास्त दिन पाउँछन् । दरखास्त दिने उम्मेदवारहरु मध्ये नोकरीको जेष्ठता, शैक्षिक योग्यता, तालिम र कार्यसम्पादन वापत शिक्षकले प्राप्त गरेको अङ्क जोडी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने बिज्ञापनमा तोकिएको संख्यामा शिक्षकलाई बढुवा नियुक्ति गर्न शिक्षा सेवा आयोगले सिफारिस गर्दछ ।
नोकरीको जेष्ठता बापत अङ्क प्रदान गर्दा सम्बन्धित तहमा स्थायी नियुक्ति भई अध्यापन गरेको प्रत्येक वर्षको २.५ अंकका दरले र अस्थायी नियुक्ति भई अध्यापन गरेको भए प्रत्येक वर्षको १.२५ अंकक दरले बढीमा ३५ अङ्क प्रदान गर्ने व्यवस्था छ ।
बढुवाका लागि शिक्षकको शैक्षिक योग्यताको अङ्क प्रदान गर्दा बढीमा २० अङ्क प्रदान गरिन्छ। २० अङ्क मध्ये सेवा प्रवेशको लागि तोकेको न्युनतम शैक्षिक योग्यता बापत १५ अङ्क प्रदान गरिन्छ । यो १५ अंक मध्ये प्रथम श्रेणी भएमा १५ अंक, द्वितीय श्रेणी भएमा १३ अंक र तृतीय श्रेणी भएमा ११ अंक पाउने व्यवस्था छ। न्युनतम शैक्षिक योग्यता भन्दा माथिल्लो शैक्षिक योग्यताका लागि ५ अंक प्रदान गरिन्छ । ५ अङ्क मध्ये प्रथम श्रेणी भए ५ अङ्क, द्वितीय श्रेणी भए ४ अंक र तृतीय श्रेणीको भएमा ३ अङ्ग प्रदान गरिन्छ ।
शिक्षक कार्यरत तह अथवा श्रेणी अथवा सोभन्दा माथिल्लो स्तरको शिक्षा शिक्षणसंग सम्बन्धी १० महिना वा सो भन्दा बढी अवधिको मान्यता प्राप्त तालिम प्राप्त गरेको भए सो तालिमको र सेवाकालिन तालिम लिएको शिक्षकलाई सेवा कालीन तालीमको गरि अधिकतम १० अङ्क दिइन्छ ।
कार्य संपादन मूल्यांकन बापत शिक्षकले अधिकतम ३५ अङ्क पाउने व्यवस्था छ । शिक्षकले सम्पादन गरेको कार्यको मुल्यांकन गर्न कार्यसम्पादन मूल्यांकन फारमको व्यवस्था गरिएको छ । कार्यसम्पादन मुल्यांकन फारमलाई चार खण्डमा विभाजन गरिएको छ । खण्ड क मा शिक्षकले अध्यापन गरेको सम्बन्धित विषयमा विद्यार्थीले प्राप्त गरेको उपलब्धिका आधारमा प्रतिवर्ष ३ अंकका दरले बढीमा १५ अङ्क पाउने व्यवस्था छ । त्यस्तै खण्ड ख मा शिक्षकले शिक्षण कार्यसँग सम्बन्धित विषयमा कार्यमूलक अनुसन्धान गरे वापत प्रत्येक वर्ष १ अङ्कका दरले पाँच वर्षको ५ अङ्क पाउँदछन । खण्ड ग मा शिक्षकले एक शैक्षिक सत्रमा पूरा गरेको बिशेश जिम्मेवारीका आधारमा प्रतिवर्ष १ अङ्कका दरले पाँच वर्षको ५ अङ्कको पाउने व्यवस्था छ । खण्ड घ शिक्षकले बर्षभरी संपादन गरेको शिक्षण कार्यका आधारमा सुपरिवेक्षक र पुनरावलोकन समितिले मूल्याङ्कन गरी अङ्क प्रदान गर्ने व्यवस्था छ । सुपरिवेक्षकले विभिन्न ८ वटा आधारमा बढीमा ६ अङ्क र पुनरावलोकन समितिले बढीमा ४ अङ्क गरी बढीमा १० अङ्कसम्म प्रदान गर्न गर्नेछन् ।
समस्या र चुनौतीहरु :-
शिक्षकको बढुवा संबन्धमा विभिन्न समस्या तथा चुनौतीहरु रहेका छन । ती समस्या र चुनौतीहरु निम्नअनुसार छन् :-
क. शिक्षक सेवा आयोग संवैधानिक अङ्ग नहुनु ।
ख. शिक्षक नियुक्ति तथा बढुवाको नियमित तालिका नहुन ।
ग. बालविकास केन्द्रका सहजकर्ता र साबिक उच्च माध्यमिक तहका शिक्षकहरूको व्यवस्थापन कुनै कार्य कार्यक्रम तथा योजना नहुनु ।
घ. पन्चायती व्यबस्थाको समयमा बि. सं. २०२८ सालको शिक्षा ऐन नै कार्यान्वयनमा रहनु र आजको आवश्यकता अनुसारको शिक्षा ऐन तथा नियमावली बन्न नसक्नु ।
ङ. द्वितीय र प्रथम श्रेणीका शिक्षकको जिल्लान्तर सरुवा गर्दा जिल्लामा कार्यरत तृतीय श्रेणीका शिक्षकहरु बढुवा हुन नसक्नु ।
च. कार्यसम्पादन मुल्यांकन फारम व्यावहारिक, वैज्ञानिक र मापन योग्य नहुनु ।
५.समस्या समाधानका उपायहरु :-
क. शिक्षक सेवा आयोग संवैधानिक बनाइनुपर्ने ।
ख. नियमित कार्यतालिका बनाई हरेक वर्ष शिक्षक विज्ञापन र बढुवाको बिज्ञापन गर्ने ब्यवस्था गर्नुपर्ने ।
ग. बालविकास केन्द्रका सहजकर्ताहरु र साविकको उच्च माध्यमिक शिक्षकको नियुक्ति र बढुवाको व्यवस्था कानुनी रुपमा हुनुपर्ने ।
घ. बदलिदो परिस्थिति सुहाउँदो शिक्षा ऐन र नियावली तर्जुमा गरी लागू हुनुपर्ने ।
ङ. प्रथम र द्वितीय श्रेणीमा जिल्लान्तर सरुवा नगर्ने। तृतीय सरुवा नगर्ने तृतीय श्रेणीमा पनि निश्चित कोटा तोकेर मात्र जिल्लान्तर सरुवा गर्ने ।
च. कार्यसम्पादन मुल्यांकन फारमलाई बढी व्यावहारिक र नतिजा मूलक बनाउने ।
उपसंहार:-
बढुवा योग्यताका आधारमा हुनुपर्दछ भन्ने कुरामा दुईमत छैन। त्यस्तै जेष्ठ व्यक्ति पहिले बढुवा हुनुपर्छ भन्ने कुरा अथवा तर्कलाई पनि नकार्न सकिदैन। जेष्ठ व्यक्ति कम योग्यता भएको र कार्यसम्पादन क्षमता कम भएको पनि हुन सक्दछ। तसर्थ बढी योग्यता भएका, कार्यक्षमता उच्च भएका र जेष्ठ व्यक्ति सबैलाई पक्षपात नहुने गरि बढुवाका आधारहरु गर्नु, बढुवा प्रक्रिया नियमित गर्नु एवम् योग्य र दक्ष व्यक्तिलाई शिक्षण पेशामा आकर्शित गर्नु आजको आवश्यकता हो ।
(लेखक बाबुराम दवाडी भरतपुर महानगरपालिकाको शिक्षा सेवाको अधिकृत आठौंवाट सेवा निवृत्त हुन )
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij