२०८२ भाद्र २ गते सोमवार
लामो समयदेखि शिक्षक सेवा आयोग रिक्त रहदा शिक्षक बढुवा देखि नियुक्ती सम्मका काम भद्रगोल बनेका छन्। शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तीको विषयमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग शिक्षक संगठनले छलफल गरेका छन्।
नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौला, स्थायी शिक्षक हकहित मञ्चका संयोजक रमेश भट्टराईलगायतले आज प्रधानमन्त्री देउवालाई भेटेर शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ती, शिक्षक परिचयपत्र, शिक्षक र निजामति कर्मचारीबीचको विभेदको विषयमा छलफल गरेका हुन्।
प्रधानमन्त्रीलाई पछिल्लो समय शिक्षकका मुद्दालाई राज्यले उपहास गरेको भन्दै पर्यटन काज, शिक्षकका छोरा छोरीलाई छात्रवृत्ति, बीमा, शिक्षक मर्यादाक्रम, बाल बिकास र विद्यालयका कर्मचारीको तलब संघबाटै जारी गर्नुपर्ने, नयाँ शिक्षक दरबन्दी सिर्जना, संघीय शिक्षा ऐन जारी गर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको संयोजक भट्टराईले जानकारी दिए।
उनले भने , ‘प्रधानमन्त्री शिक्षकका मुद्दामा सकारात्मक हुनुहुन्छ। हामीले आज ध्यानाकर्षण गराएका हौँ । बृहतरुपमा भोली छलफल हुन्छ। शिक्षकका मुद्दालाई तत्काल निकास दिनेमा हामीहरू विश्वस्त छौं।’ शिक्षक सेवा आयोगलाई संबैधानिक आयोग बनाउने प्रधानमन्त्रीले वचन दिएको बुझिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij