२०८२ भाद्र ३ गते मंगलवार
आफ्नै छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका–८ मा बस्ने ३१ वर्षीय पुरुष रहेका छन् । छोरीले दुई दिनअघि दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका छोपी आफ्नै १५ वर्षीया छोरीको संवेदनशील अंग चलाउने र समाउने गरेको आरोप उनीमाथि लागेको छ ।
जाहेरीमा उल्लेख भए अनुसार करिब एक वर्षदेखि उनले यौन दुव्र्यवहार गर्दै आएका थिए । बाल यौन दुरुपयोग कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीका सूचना अधिकारी दिपक गिरीले जानकारी दिए।
के गर्थे ?
प्रहरीका अनुसार पीडित किशोरीकी आमाको करिब डेढ वर्षअघि मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएपछि उनले छोरीलाई सिविन नेपाल नामक गैरसरकारी संस्थामा लगेर राखिदिएका थिए । केही महिनापछि संस्थाबाट निकालेर उनले छोरीलाई ल्याएका थिए ।
घरमा ल्याइसकेको केही समयसम्म राम्रैसँग राखे । तरपछि उनको नियत बदलिन थाल्यो, अनि छोरीको अंग समाउने प्रयास गर्न थाले । उनकी अर्की सानी छोरी पनि रहेको प्रहरीले जानकारी दिएका छन् ।
दुवै छोरीले प्रहरीसमक्ष बयान दिँदा बाबुले यौन दुर्व्यवहारका साथै मदिरा सेवन गरेर आउने, कुटपिट समेत गर्ने गरेको बताएका छन् ।
‘सधै जाँडरक्सी खाएर आउनुहुन्थ्यो, अनि कुटपिट गर्न थाल्नुहुन्थ्यो । उहाँले भनेको काम नमान्दा अझ बढी कुटपिट गर्नुहुन्थ्यो’ बयानमा छोरीहरूले भनेका छन् । यो क्रम करिब एक वर्षदेखि चल्दै आएको उनीहरुले बताएका छन् । पछिपछि रक्सी खाएर घरमा आएपछि संवेदनशील अंगहरु चलाउने, समाउने गर्न थालेको उनीहरुको आरोप छ ।
कसरी खुल्यो पोल ?
सधैँजसो कुटपिट गर्ने छोरीहरुलाई बुबाले असार १७ गते कुटपिट गरेर गम्भीर बनाए । त्यसपछि उनीहरु उपचारका लागि अस्पताल पुगे । अस्पताल जाँदा त्यहाँ रहेका प्रहरी कर्मचारीसँग भेट भयो । प्रहरीले चोटपटकका बारेमा सोधखोज गर्दै जाँदा उनीहरुले घटनाको नालीबेली सुनाए ।
त्यसपछि प्रहरीले थप सोधपुछका लागि ती दिदीबहिनीलाई प्रहरीको महिला सेलमा पठायो । महिला सेलमा रहेका प्रहरी कर्मचारीले सोधखोज गर्न थालेपछि उनीहरु बुबाको हर्कतबारे सबै सुनाए ।
त्यसपछि उनीहरु बस्ने संस्थाका प्रतिनिधिलाई बोलाएर मुद्दा प्रक्रियामा जाने सहमति भयो । त्यही सहमति बमोजिम अहिले ती (क) नाम गरेको बुवालाई पक्राउ गरिएको जगाती वृत्तका प्रहरी प्रमुख डिएसपी राजेश थापा बताउँछन् ।
जगाती प्रहरीका अनुसार अहिले उनीविरुद्ध ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij