२०८२ कार्तिक ३० गते आइतवार
वीरगंज । वीरगंज–२२ स्थित सर्वोत्तम स्टिल प्रालि नजिकै सवारी दुर्घटना हुदाँ एक जना पैदल यात्रीको मृत्यु भएको छ। घटनामा परी चार जना घाइते भएका छन् । ट्रक र टिपर दुर्घटनामा वीरगंज–२२ जगरनाथपुरका ६५ वर्षीय वृद्ध बैद्यनाथ राउत कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधवार साँझ साढे ६ बजेको समयमा परवानीपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको यूपी ५२ टि ७५५० नं.को भारतीय ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख २६६६ नं.को टिपर एक आपसमा ठोक्किदाँ भारतीय ट्रक उनीमाथि पल्टेको थियो । ट्रकले चेपिएर गम्भीर घाइते कुर्मीलाई उपचारको लागि नारायणी बयोधा अस्पताल,गण्डकमा ल्याउँदा बाटोमा उनको मृत्यु भएको थियो । उनको शव नारायणी अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । मृतक कुर्मी भैंसी चराएर जगरनाथपुर गाउँ फर्किदै गर्दा दुर्घटना भएको थियो ।
भारतीय ट्रक चालक, भारत, गोपालगञ्ज मुसहरी बस्ने वर्ष ३५ को आजाद अन्सरीको समेत वाँया खुट्टा भाँचिएको र सोही स्थानका सह चालक वर्ष ४० को नुरुल बस्सरको अनुहारमा चोट देखिएको छ । दुबै जनालाई नियन्त्रणमा लिएर नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको छ ।
त्यसैगरी, मकवानपुर घर भएको टिपर चालक वर्ष ३७ का बिपिनप्रसाद गडतौलाको वाँया खुट्टामा चोट लागेको छ भने मकवानपुरकै ट्रिपरका सहचालक वर्ष २४ का अजय लामा पनि समान्य घाइते भएको उनीहरुको उपचार पनि नारायणी अस्पतालमा भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी गराए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij