Logo

२०८३ कार्तिक १३ गते शुक्रवार

२०८३ कार्तिक १३ गते शुक्रवार

आज दिनभरको १९ खबर एकै ठाउँमा

आज दिनभरको १९ खबर एकै ठाउँमा


  • 323
    Shares

    आज दिनभरको १९ खबर एकै ठाउँमा
    images

    १. सुरक्षा क्षेत्रमा गरिने विपद् व्यवस्थापन लगानीलाई ‘फजुल’ मान्ने दृष्टिकोण त्यागौँः सशस्त्र प्रहरी

    विपद् प्रतिकार्यलाई नतिजामुखी बनाउन विषयगत क्लस्टरहरूलाई तत्काल पूर्ण सक्रिय तुल्याउनुपर्ने र सुरक्षा निकायलाई विशुद्ध खोज तथा उद्धारमा मात्रै केन्द्रित गर्ने वातावरण बनाउनुपर्नेमा सशस्त्र प्रहरी बलले जोड दिएको छ । भोटेकोशीजस्ता सीमापार विपद्का घटना न्युनिककरण गर्न चीन, नेपाल र भारतबीच मिनेट–सेकेण्डमै सूचना आदानप्रदान हुने त्रिपक्षीय पूर्वसूचना प्रणाली विकास गर्नुपर्ने औँल्याइएको हो । शुक्रवार सिंहदरबारमा आयोजित भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले उक्त धारणा राख्नुभएको हो ।

    २. विपद् व्यवस्थापन संयन्त्र भद्दा हुँदा उद्धार र समन्वयमा ढिलाइः प्रधानसेनापति सिग्देल

    नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले भोटेकोशी विपद् व्यवस्थापन संयन्त्र आवश्यकताभन्दा भद्दा र लामो ‘चेन अफ कमाण्ड’ का कारण तत्काल उद्धार तथा समन्वयमा प्रभावहीन बनेको बताउनुभएको छ । शुक्रवार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै उहाँले २०७२ सालको भूकम्पपछि बनेको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनइओसीसी) को विद्यमान ढाँचामा व्यापक परिमार्जन आवश्यक रहेको बताउनुभएको हो । प्रधानसेनापति सिग्देलले हालैका बाढीपहिरो तथा सुरुङ दुर्घटनाजस्ता घटनाले विद्यमान विपद् संरचनाको कमजोरी उजागर गरेको स्पष्ट पार्नुभयो । 

    ३. विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनस्र्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव

    प्राकृतिक विपद्का कारण विस्थापित भएका प्रहरी चौकीहरूको पुनःस्थापना कार्यलाई तिब्रता दिइएको छ । रसुवा बाढी–पहिरो प्रभावित क्षेत्रमा शान्ति सुरक्षा, अमनचयन कायम राख्न तथा विपद्मा बेपत्ता नागरिकहरूको खोजी कार्यलाई निरन्तरता दिन स्थानीयस्तरमा प्रहरी युनिटहरू पुनः सञ्चालनमा ल्याउन थालिएको हो । संसदको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन विशेष समितिको बैठकमा सुरक्षा निकायका अधिकारीहरूले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी गराएका छन् । बैठकमा बोल्दै नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको दैनिक सुरक्षा र उद्धारलाई प्रभावकारी बनाउन स्थानीयस्तरमै प्रहरीको स्थायी उपस्थिति अपरिहार्य रहेको बताउनु भयो । 

    ४. विपद् उद्धारमा अनियन्त्रित ड्रोन र एयरस्पेस व्यवस्थापनको अभावले दुर्घटनाको जोखिम उच्चः प्रधानसेनापति सिग्देल

    प्राकृतिक विपद्पछिको खोज तथा उद्धार कार्यका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्र (एयरस्पेस) को उचित व्यवस्थापन नहुँदा हेलिकप्टरहरू आपसमा वा ड्रोनसँग ठोक्किएर अर्को ठूलो दुर्घटना निम्तिन सक्ने जोखिम देखिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले विपद् प्रभावित क्षेत्रमा जथाभावी ड्रोन उडाउँदा हेलिकप्टर तथा अन्य हवाई साधनसँग ठोक्किने जोखिम रहेको बताउनुभएको हो । शुक्रवार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै उहाँले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा हवाई दुर्घटनाको जोखिम बढेको बताउनु भयो । 

    ५. भोटेकोशी विपद् प्रतिकार्यमा सुरक्षा निकायबीच कुनै दुविधा छैनः डीआईजी ढकाल

    सशस्त्र प्रहरी बलले भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको बाढी तथा विपद् प्रतिकार्यमा सुरक्षा निकायहरूबीचको ‘चेन अफ कमान्ड’ र अन्तरनिकाय समन्वय उत्कृष्ट रहेको दाबी गरेको छ । 
    शुक्रवार संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले प्रतिकार्यमा सुरक्षा संयन्त्रहरूबीच कुनै पनि प्रकारको अन्योल वा समस्या नरहेको स्पष्ट पार्नुभएको हो । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै डीआईजी ढकालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच पूर्ण तालमेलका साथ उद्धार कार्य सञ्चालन गरिएको बताउनु भयो । 

    ६. बाढीपहिरो खोजी तथा उद्धारमा ‘टिमुरे टु त्रिवेणी’ अपरेसन–११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी

    भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विनाशकारी बाढीपहिरोपछिको खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म ११२ वटा शवको पहिचान गरी परिवारलाई बुझाइएको नेपाल प्रहरीले जनाएको छ । नदीले बगाएर टाढा पु¥याएका शवहरूको खोजीका लागि रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणी (भारत सीमा) सम्म दुवै किनारमा ‘टी टु टी’ (टिमुरे टु त्रिवेणी) विशेष अपरेसन सञ्चालन गरिएको हो । भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको शुक्रवारको बैठकमा नेपाल प्रहरीका तर्फबाट विस्तृत कार्यप्रगति प्रश्तुत गर्दै प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले उक्त विवरण सार्वजनिक गर्नुभएको हो ।

    ७. बाढी र उद्धारबारे सेनाको ब्रिफिङः ‘विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड वाधक’

    नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड वाधक बनेको बताएको छ । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विपद््् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा समन्वयमा चुनौती थपिएको बताउनुभएको हो । उहाँले छरितो र एकल ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको औँल्याउनु भयो । गोरखाको उत्तरी भेगस्थित सिरिङ्गे हिमालमा खसेको हिमपहिरोको गेग्रानले बुढीगण्डकीको सहायक नदी स्यार खोला करिव दुई घण्टा थुनिएपछि भीषण बाढी निम्तिएको थियो ।

    ८. टनेलभित्र ३७ जनाको शव भेटिएको थियो–नेपाली सेना

    नेपाली सेनाले भोटेकोशी करिडोरमा आएको बाढीपहिरोका कारण प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धारका क्रममा ३७ जनाको शव फेला पारेको जनाएको छ । नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले सुरुङभित्रको अवस्था अत्यन्तै जोखिमपूर्ण र जटिल रहेको बताउनुभएको हो । शुक्रवार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा धारणा राख्दै उहाँले सुरुङभित्र खोज तथा उद्धारका क्रममा ११ औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार आयोजनामा कोरियन कम्पनीको स्वामित्व तथा कोरियन सब–कन्ट्र्याक्टरमार्फत काम भइरहेको थियो । त्यहाँ नेपाली र भारतीय कामदार कार्यरत थिए । 

    ९.चीनमा ११० मानवाकार रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान

    चीनमा ११० वटा मानवाकार रोबोटले एकैसाथ नृत्य प्रश्तुत गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । चीनको पूर्वी शान्दोङ प्रान्तस्थित जिनान सहरमा अक्टोबर २४ मा ती रोबोटले पाँच मिनेटभन्दा लामो समयसम्म सामूहिक नृत्य प्रदर्शन गरेका हुन् । उक्त नृत्य प्रदर्शनमा कुनै पनि रोबोटलाई वास्तविक समयमा मानिसले नियन्त्रण गरेका थिएनन् । पूर्वनिर्धारित प्रविधि तथा स्वचालित प्रणालीको प्रयोगबाट रोबोटहरूले एकैसाथ नृत्य प्रस्तुत गरेका थिए ।एकैपटक सबैभन्दा धेरै मानवाकार रोबोटले नृत्य गरेको उक्त प्रदर्शनलाई गिनिज वल्र्ड रेकर्डले विश्व कीर्तिमानका रूपमा मान्यता दिएको छ ।

    १०. टर्कीमा चट्टानी संरचना भत्किँदा तीन जनाको मृत्यु, पाँच घाइते

    टर्कीको प्रसिद्ध पर्यटकीय क्षेत्र क्यापाडोसियामा चट्टानबाट बनेको अग्लो संरचना भत्किँदा तीन जनाको मृत्यु भएको छ । बिहीवार भएको घटनामा दुई जना टर्कीका नागरिकको मृत्यु भएको नेभसेहिर प्रान्तका गभर्नर हुसेइन कोकले सार्वजनिक प्रसारण संस्था टीआरटीलाई जानकारी दिनुभएको छ । मृत्यु हुने तेस्रो व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन । घटनामा अन्य पाँच जना घाइते भएका छन् । उनीहरूको नजिकैको अस्पतालमा उपचार भइरहेको गभर्नर कोकले बताउनुभएको छ । हालै भएको भारी वर्षाका कारण चट्टानी संरचना कमजोर भई भत्किएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । टर्कीको गणतन्त्र दिवसको सार्वजनिक बिदाका दिन गोरेमे खुला संग्रहालयको प्रवेशद्वार नजिकै उक्त घटना भएको हो ।

    ११. दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग

    दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई विद्रोहको अभियोगमा मृत्युदण्ड दिन विशेष अभियोजन पक्षले माग गरेको छ । सन् २०२४ मा असंवैधानिक रूपमा सैनिक शासन (मार्सल ल) घोषणा गरी विद्रोह गराएको आरोपमा चलिरहेको पुनरावेदन सुनुवाइका क्रममा बिहीवार अभियोजन पक्षले मृत्युदण्डको माग गरेको हो । पूर्वराष्ट्रपति युनविरुद्ध विद्रोह तथा अन्य सम्बन्धित अपराधको अनुसन्धान गरिरहेका विशेष अभियोजक चो युन सुकको टोलीले युद्ध, हिंसात्मक घटना वा त्यस्तै राष्ट्रिय सङ्कटकालीन अवस्था नरहेको समयमा सैनिक शासन घोषणा गरेर विद्रोहको नेतृत्व गरेको आरोप लगाएको छ । अभियोजन पक्षले पहिलो तहको अदालतमा पनि युनलाई मृत्युदण्ड दिन माग गरेको थियो । 

    १२. भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो, ५७ हजार विस्थापित

    भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो । रुख, पर्खाल तथा विद्युत्का पोल खस्दा र करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको जनाइएको छ । चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका धेरै स्थानमा विद्युत आपूर्ति बन्द गरिएको छ । विद्यालय तथा कलेजलगायत शैक्षिक संस्थाहरू पनि आगामी केही दिनका लागि बन्द गरिएका छन् । आन्ध्र प्रदेशका दुई विमानस्थलबाट सञ्चालन हुने ३५ भन्दा बढी उडान रद्द तथा अन्यत्र डाइभर्ट गरिएको छ । 

    १३. स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा

    स्पेनमा दुई तिब्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधवार भएको भीषण रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गर्नुभएको हो । उहाँले दुर्घटनाको कारणबारे विस्तृत र निष्पक्ष अनुसन्धान गरिने प्रतिवद्धतासमेत जनाउनुभएको छ । दुर्घटना बुधवार बिहान राजधानी म्याड्रिडबाट करिब १२० किलोमिटर दक्षिणमा रहेको टोलेडो प्रान्तमा भएको हो । म्याड्रिड–सेभिया रेलमार्गमा रोकिराखिएको इरियो कम्पनीको रेललाई रेन्फेको उच्च गतिको रेलले पछाडिबाट ठक्कर दिएको थियो । कास्टिला–ला मान्चा स्वायत्त क्षेत्रका अध्यक्ष एमिलियानो गार्सिया–पेजका अनुसार दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ । 

    १४. कर प्रणालीमा एकरुपता कायम गरी  स्थानीय आवश्यकताका आधारमा बजेट विनियोजन गरिनुपर्छः सांसदहरू

    राष्ट्रिय सभाका सांसदहरूले स्थानीय तहअनुसार फरक–फरक रहेको कर प्रणालीलाई एकरूप बनाउन तथा उद्योगी व्यवसायीले कर चुक्ताका लागि विभिन्न कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरूले यस्तो ध्यानाकर्षण गराएका हुन् । स्थानीय तहअनुसार कर प्रणालीमा देखिएका असमानता हटाउन र उद्योगमैत्री वातावरण निर्माणमा सरकार गम्भीर हुनुपर्ने उनीहरुको धारणा छ । 

    १५. तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय

    गत १० भदौको रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीले क्षति पु¥याएको रसुवागढी नाकाको पुनःनिर्माण तथा सिन्धुपाल्चोकको तातोपानी नाकालाई नियमित रुपमा सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कूटनीतिक पहल तीव्र पारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार मन्त्रालयले नियमित प्रेस ब्रिफिङको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । प्रेस ब्रिफिङमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाल–चीन जोड्ने मुख्य व्यापारिक नाका सञ्चालनमा ल्याउन बिहीवार परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा सम्बन्धित विभाग तथा मन्त्रालयका प्रतिनिधिबीच अन्तरमन्त्रालय समन्वय बैठक सम्पन्न भएको बताउनु भयो । 

    १६. नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप

    संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी)को सूचीबाट स्तरोन्नति गर्ने प्रक्रियाका लागि आवश्यक तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप गर्ने प्रश्ताव पारित गरेको छ । बिहीवार न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा बसेको ८१ औँ महासभाको बैठकले उक्त निर्णय परराष्ट्र मन्त्रालयले जनाएको छ । शुक्रवार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सरकारले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई दृष्टिगत गर्दै सन् २०२६ नोभेम्बरमा हुने तय भएको नेपालको स्तरोन्नति तीन वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरेको बताउनु भयो ।

    १७. सरकार र प्रहरीबीच ‘कन्फ्लिक्ट’ चलिरहेको छ, हेडक्वाटरको ‘डिआईजी सम्मेलन’ त्यसैको परिणाम होः सांसद मधु चौलागाईं

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मधु चौलागाईंले सरकार र प्रहरीबीच द्वन्द्व चलिरहेको भन्दै बिहीवारको डिआईजी सम्मेलन त्यसैको परिणाम भएको बताउनुभएको छ । रोल...
    शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमममा बोल्दै सांसद चौलागाईंले यस्तो बताउनुभएको हो । उहाँले प्रहरीले अपराधिक अनुसन्धामा संलग्न विवरण सार्वजनिक गर्ने र सत्तारुढ दलका सांसदहरु नै प्रहरी प्रशासनविरुद्ध खनिने कुराले दुवै पक्षबीच द्वन्द्व सिर्जना गरेको बताउनुभयो । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीवार सातै प्रदेशका डीआईजीहरुलाई पनि हेडक्वाटर बोलाउनुभएको थियो । पोलिसी कोअर्डिनेसन कमिटी (पीसीसी)को बैठकका लागि उहाँले डिआईजीहरुलाई हेडक्वाटर बोलाउनुभएको थियो ।

    १८. वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै

    लुम्बिनीमा निक्षेप वृद्धिदर सबैभन्दा उच्च, मधेशमा कर्जा लगानी घट्यो
    मुलुकका सातै प्रदेशमा बैंक तथा वित्तीय संस्थाले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जामा ठूलो असमानता देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशहरूको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाले २०८३ असार मसान्तसम्म वागमती प्रदेशबाट मात्रै ५२ खर्ब ६७ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो रकम अन्य सबै प्रदेशको तुलनामा निकै बढी हो ।

    १९. सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन

    मुलकको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को असोज मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको असोज मसान्तसम्मको प्रतिवेदनअनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा सार्वजनिक ऋण ४५.५९ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८३÷८४ को शुरुवातमा सरकारको कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । तीन महिनाको अवधिमा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ ऋण परिचालन गरेको छ । यस अवधिमा विनिमय दरमा भएको परिवर्तनबाट १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँ बराबरको नाफासमेत देखिएको छ । तर सोही अवधिमा ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ बराबरको साँवा भुक्तानी भएको छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :कार्तिक १३ २०८३ शुक्रवार - २०:०९:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij