२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले पदयात्रा नगर्न अध्यागमन विभागले आग्रह गरेको छ ।
विभागले मंगलबार सूचना जारी गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको जनाएको उल्लेख गरेको छ ।
मौसम प्रतिकूल हुने सम्भावनालाई ध्यानमा राख्दै पर्यटकलाई उक्त अवधिभर सुरक्षित स्थानमा रहन विभागले अनुरोध गरेको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा पदयात्रा गर्न अनुमति लिएका पदयात्रीलाई समेत सम्भावित जोखिम न्यूनीकरणका लागि पदयात्रा नगर्न आग्रह गरिएको छ ।
विभागका अनुसार उक्त अवधिमा निषेधित क्षेत्रमा पदयात्रा गर्ने अनुमति आजकै मितिदेखि जारी नहुने जानकारीसमेत गराइएको छ ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा अन्य सरोकारवालालाई सूचनाको पालना गर्न अनुरोध गरेको छ ।
अध्यागमन विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले मौसमको प्रतिकूलताबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij