२०८३ आश्विन २९ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच बुधबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालमा पछिल्लो समय देखिएको विपद्, जलवायु परिवर्तन, पर्यटन तथा लगानीका विषयमा छलफल भएको हो।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्का कारण उत्पन्न कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि धन्यवाद दिएका थिए।
उनले पछिल्लो विपद्बाट नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको जानकारी गराउँदै जलवायु परिवर्तनका कारण यस्ता जोखिम बढ्दै गएको विषय राजदूत बोल्डिनसमक्ष राखेका थिए। जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण र त्यसबाट हुने क्षति कम गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उनले जोड दिए।
वार्तामा नेपालको पर्यटन क्षेत्रको सम्भावना र त्यसको विकासमार्फत नेपाल तथा अमेरिकाबीच पारस्परिक लाभ लिन सकिने विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री शाहले नेपालमा अमेरिकी लगानीका लागि अवसर रहेको र त्यस्ता लगानीलाई स्वागत गर्ने धारणा राखेका थिए।
भेटमा कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरिन्।
उनले विपद्को कठिन समयमा अमेरिकी सरकार नेपाल र नेपाली जनताको साथमा रहेको बताउँदै राहत, पुनःस्थापना र पुनर्निर्माणका काममा आवश्यक सहयोग तथा सहकार्य गर्न अमेरिका तयार रहेको जानकारी गराइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij